लण्डन। वेलायतस्थित नेपाली जनसम्पर्क समितिले आगामी २९ डिसेम्बर २०२४ आइतवार अल्डरशटमा मेलमिलाप दिवस मनाउने तयारी गरेको छ।
नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङका अनुसार, समितिले यस विशेष अवसरमा राष्ट्रिय एकता र मेलमिलापको महत्वलाई मनाउँदै कार्यक्रम आयोजना गर्नेछ।
गुरुङले नेपाली कांग्रेसप्रति आस्था राख्ने सबैलाई उक्त कार्यक्रममा सहभागी हुनको लागि आह्वान गरेका छन्। कार्यक्रमका मुख्यवक्ता शंकर तिवारी, नेपाली कांग्रेसका युवा नेता, हुनेछन्।
यस कार्यक्रममा नेपाली कांग्रेसका सम्पूर्ण कार्यसमिति सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, सल्लाहकारहरू, क्षेत्रीय समितिका पदाधिकारीहरू र नेपाली कांग्रेसका आस्थावान सबै सदस्यहरूको उपस्थिति अनिवार्य रहेको समितिकी महामन्त्री रोविय लिम्बूले जानकारी दिइन्।
यसअघि, नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख र नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलले राष्ट्रिय एकता र मेलमिलाप दिवस २०२४ को आयोजना गर्नको लागि नेपाली जनसम्पर्क समितिहरूसँग पत्राचार गरेका थिए।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवस
पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवस । नेपाली कांग्रेसका संस्थापक एवं नेपाली कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवादका प्रतिपादक बिपी कोइराला सहितका नेताहरू आठ वर्ष निर्वासित जीवन बिताएर २०३३ पुस १६ गते स्वदेश फर्केको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।
यसलाई औपचारिकतामा सीमित नगरी यसको मर्म र भावनालाई आत्मसात् गर्नसक्ने हो भने दिवसले सधैँभरि राष्ट्रिय एकता र आपसी मेलमिलापको महत्वपूर्ण सन्देश दिएको छ ।
मेलमिलाप दिवस पञ्चायती निरङ्कुशतामा आठ वर्षको भारत निर्वासित जीवन त्याग गरी कांग्रेसका संस्थापक जननायक बिपी कोइरालासहित लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका दर्जनौँ नेता राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्कनुभएको थियो ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उहाँहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्कनुभएको थियो ।
प्रजातन्त्रसँग कुनै सम्झौता हुन सक्दैन तर राष्ट्रियताका सवालमा मेरो घाँटी राजासँग जोडिएको छ भन्ने बिपीको प्रष्ट भनाइले तत्कालीन अवस्थामा मुलुकको राष्ट्रियता कति सङ्कटमा थियो भन्ने प्रष्ट हुन्छ । राष्ट्रियताका सन्दर्भमा स्वदेश फर्केपछि राजासँगको भेटमा बिपीले भन्नुभएको थियो, “यो मुलुक रहेन भने म विराटनगरमा खेती गरेर बसौँला तर तपाईं कहाँको राजा बन्नुहुन्छ ?” नभन्दै त्यतिबेला दक्षिण एशियाकै राजनीतिमा निकै उतारचढाव थियो ।
त्यस राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै उहाँले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सरकार बर्खास्त गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन नेतामाथि देशद्रोहको मुद्दासमेत लगाए । निर्दलीय पञ्चायती व्यवस्था सुरु गरेपछि कोइराला सहितका नेतालाई करिब आठ वर्ष जेलमा हालिएको थियो ।
राष्ट्रिय-अन्तर्राष्ट्रिय दबाबका कारण २०२५ कात्तिक १४ गते बिपी कोइरालालगायतका नेता जेलमुक्त हुनुभयो र त्यसपछि उहाँहरू भारतमा निर्वासनमा जानुभयो । त्यसपछि कांग्रेसले सशस्त्र विद्रोहको नीति अपनायो तर त्यो विद्रोह खासै उपलब्धिमूलक हुन सकेन, बरु पार्टीका केही नेताहरूको ज्यान गयो ।
यसबीचमा देशका विभिन्न स्थानमा भएका घटनामा संलग्नता रहेको भन्दै तत्कालीन राज्यसत्ताबाट बिपी सहितका नेताहरूलाई फाँसीको सजाय हुन सक्नेसम्मका विभिन्न आठ मुद्दा लगाइएको थियो ।
मुलुकको विषम परिस्थितिलाई बुझेर नै बिपीले आफ्नो ज्यानभन्दा देश ठूलो हो भन्ने महसुस गरी राष्ट्र बचाउन र मुलुकमा प्रजातन्त्रको पुनःस्थापना गर्न २०३३ सालमा मेलमिलापको नीति घोषणा गर्दै नेपाल फर्कनुभएको थियो । बिपीले मेलमिलापको नीति अवलम्बन गर्ने क्रममा भन्नुभएको थियो, “आजसम्म हामीले प्रजातन्त्रको लडाईं गरिरहेका थियौँ ।”
बिपीको त्यो ऐतिहासिक निर्णय र तत्कालीन राष्ट्रिय आवश्यकतालाई नबुझी राजासँग बिपीको सहकार्यको प्रस्तावलाई लत्याउँदै उहाँहरूलाई पक्रेर सुन्दरीजलस्थित बन्दीगृहमा राखियो । बिपीले सोही जेलबाट ती मुद्दाको पुर्पक्ष गर्नुभएको थियो । बिपीले ती मुद्दामा सर्वोच्च अदालतमा बयान दिँदा पनि भन्नुभएको थियो, “कानुनको साँघुरो किल्लामा न्यायको हत्या नहोस् ।”