२९ पुष २०८१, सोमबार
Follow Us

प्रचण्डको ब्रिफिङः ओली सरकारको आयु धेरै छैन

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८१, बिहीबार १३:३६

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (बिहिबार) बसेको माओवादी केन्द्रको स्थायी समितिको बैठकमा केपी ओली नेतृत्वको कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारको आयु धेरै लामो नभएको ब्रिफिङ गरेका छन् ।

आज बिहिबार बसेको केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको स्थायी समिति बैठकमा उनले ओली सरकारको आयुबारे ब्रिफिङ गरेका हुन् । आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा प्रस्तुत गर्ने क्रममा उनले भने, ‘केपी ओली सरकारको आयु धेरै छैन ।

यो सरकार अन्तर्राष्ट्रियमा पनि अनुदार देखियो ।’ प्रचण्डले अगाडि भने, ‘राष्ट्रिय समस्या समस्या समाधान गर्न समेत ओली सरकार पूर्ण असफल देखियो । जनताको सरकार नभई भ्रष्टाचारी, बिचौलिया, माफियाको सरकार बनेकाले अलोकप्रिय बन्दै गएको छ ।

एमालेभित्र र कांग्रेसभित्र चुलिएको असन्तुष्टिका कारण पनि अब ओली सरकार धेरै पर जाँदैन । यस्तो अवस्थामा हामी सरकारमा जाँदैनौँ । अभियान लिएर जनताको बिचमा जान्छौँ ।’बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले पनि ओली सरकार धेरै नटिक्ने बताए ।

पार्टीभित्रकै फरक आवाजलाई बन्द गर्ने, भ्रष्टाचारी, बिचौलिया, माफियाका संरक्षणका लागि कांग्रेस र एमालेको सरकार बनेको आरोप लगाए ।