सोमवारको भेलामा पूर्वअध्यक्षहरू अनुपस्थित हुने
लण्डन। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले संघको एकता अधिवेशनलाई अघि बढाउने क्रममा एकल निर्णय लिन थालेपछि उनी एक्लिने क्रम जारी रहेको छ।
यसैबीच, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले घले नेतृत्वको उच्चस्तरीय समितिमा नरहने घोषणा गरेका छन्।
डा. महतोले आइतवार शेष घलेलाई एक पत्र लेख्दै, “गैरआवासीय नेपाली संघको एकताको लागि म पूर्ण रूपमा प्रतिबद्ध छु, तर सो समितिबाट बाहिरै रहेर एकताको पक्षमा भूमिका निर्वाह गर्नेछु,” भन्दै घलेको समितिबाट अलग हुने निर्णय गरेका छन्। उनले थप भने, “मेरो नाम उच्चस्तरीय समितिबाट हटाइ दिनुहोस्। म बाहिर बसेर सहयोग गर्नेछु।”
घलेले आइतवार बोलाएको बैठकमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संस्थापक नेता रामप्रताप थापा, पूर्वअध्यक्ष जीवा लामिछाने र कुमार पन्त अनुपस्थित थिए।
यसअघि, पूर्वअध्यक्ष कुमार पन्तले टिओआर निर्माण र उच्चस्तरीय समितिको बैठकमा सरकारको प्रतिनिधिको अनुपस्थिति रहेको कुरा उठाउँदै घलेको समितिमा नरहने घोषणा गरेका थिए।
यसैबीच, घले समूहले सोमवार आयोजना गरेको भर्चुअल अन्तक्रिया कार्यक्रममा संघका पूर्वअध्यक्षहरू अनुपस्थित हुने भएका छन्।
गैरआवासीय नेपाली संघको विवादसँग सम्बन्धित सर्वोच्च अदालतले गत साउन महिनामा अध्यक्ष डा. बद्री केसीलाई आधिकारिकता दिएको भएता पनि घलेले सो फैसलाको अवहेला गर्दै मे महिनामा महाधिवेशनको घोषणा गरेपछि उनी विवादमा तानिएका छन्।