केन्द्रमा एकता गरेर आउनुहोस्, मार्चमा अधिवेशन गर्न सकिँदैन
लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उच्चस्तरीय समितिका संयोजक शेष घलेले सोमबार आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले एकल निर्णयबाट अघि नबढ्न र डा. बद्री केसी बिना एकता महाधिवेशनको कल्पना नगर्न सुझाव दिएका छन्।
भरत्चुअल माध्यममा भएको सो कार्यक्रममा संघका राष्ट्रिय समितिका अध्यक्षहरूले मार्च महिनाभित्र राष्ट्रिय अधिवेशन गर्न नसकिने भन्दै आगामी अक्टोबर महिनामा एकता महाधिवेशनको आयोजना गर्न आग्रह गरे।
करिब १ दर्जन राष्ट्रिय समितिका अध्यक्षहरूको उपस्थितिमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ क्यानाडाका अध्यक्ष माधव दुलालले शेष घलेलाई आगामी अक्टोबरमा संघको एकता महाधिवेशन गर्न आग्रह गरे। उनले राष्ट्रिय समितिको निर्वाचनको तयारीका लागि न्यूनतम ६ महिनाको समय चाहिने भन्दै सबै पक्षलाई समेटेर अक्टोबरमा निर्वाचन गर्नको लागि आग्रह गरे। उनले घलेलाई डा. बद्री केसी सहितको बैठक बोलाउन पनि आग्रह गरे।
गैरआवासीय नेपाली संघ बेल्जियमकी अध्यक्ष सीता सापकोटाले घलेलाई एक्लै धम्फु बजाएर कहिँ पुग्न नसकिने भन्दै संघको उच्चस्तरीय समिति भित्रै एकता खोजेर राष्ट्रिय समितिलाई निर्देशन दिन आग्रह गरिन्। उनले केन्द्रमा एकता कायम नभएसम्म राष्ट्रिय समितिहरूमा हस्तक्षेप नगर्न घलेलाई आग्रह गर्दै एकता महाधिवेशनको प्रक्रिया मार्चमा गर्न असम्भव भएको बताइन्।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले संस्थाभित्र बृहत एकताको आवश्यकता रहेको विचार व्यक्त गर्दै, अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया सुरु गरेको जानकारी दिनु हुँदै पूर्वनिर्धारित कार्यतालिका अनुसार निर्वाचन सम्पन्न हुने बताए। उनले एकल निर्णयबाट अघि नबढ्न घलेलाई आग्रह गरेका थिए र वर्तमान अध्यक्ष डा. बद्री के.सी. को कार्यसमितिलाई समेटेर अघि बढ्न सुझाव दिए।
गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष अर्जुन बन्जाडेले सबै राष्ट्रिय समितिको एउटै मत रहेको जानकारी दिए। उनले भने, “हाम्रो स्पष्ट धारणा छ, मार्च महिनामा अधिवेशन गर्न सकिँदैन र एक्लै हिँड्नेहरूलाई साथ दिदैनौं।” उनले २२ देशका राष्ट्रिय समितिका अध्यक्षहरूको सामूहिक बैठकले पनि बहुपक्षीय एकता हुनुपर्नेमा जोड दिएको जानकारी नेपालब्रिटेन डट कमलाई दिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले उच्चस्तरीय समितिको बैठकमा हुने निर्णय प्रक्रिया पारदर्शी हुने विषयमा प्रश्न उठाएका थिए।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा अनुपस्थित रहे।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष नविन निउरेले एकता महाधिवेशनको नाम हतारो गर्दा अर्को दुर्घटना हुन सक्ने भन्दै संस्थापन पक्षलाई समेटेर संघको विधानअनुसार एकता महाधिवेशन गर्न आग्रह गरे।
एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले मार्च महिनामा निर्वाचन गर्न असम्भव भएको भन्दै सबै पक्षलाई मिलाएर लैजान घलेको ध्यान आकर्षण गरे।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वकोषाध्यक्ष महेश श्रेष्ठले एकताको लागि रोडम्याप प्रस्तुत गर्दै संघका अध्यक्ष डा. बद्री के.सी. सँग वार्ता गरेर आगामी अक्टोबरमा अधिवेशन गर्न सुझाव दिए।
कार्यक्रममा संघका पूर्वसचिव आरके शर्माले गैरआवासीय नेपाली संघको केन्द्रको विवाद ल्याएर राष्ट्रिय समितिहरूलाई विभाजन गर्न नहुने बताए। उनले राष्ट्रिय समितिहरू चलाउन भन्दा पहिले केन्द्रमै एकता खोज्न सुझाव दिए।
संघका पूर्वसल्लाहकार डिबी क्षेत्रीले गैरआवासीय नेपाली संघको नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्नेमा जोड दिए। उनले संस्थाभित्र विवादका बारेमा अरूलाई दोष लगाउन भन्दा संस्थापक अध्यक्ष डा. महतो र घलेले आपसी छलफल गरेर समस्याको समाधान निकाल्न आग्रह गरे।
संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले सबै पक्षलाई समेटेर अघि बढ्न सुझाव दिए।
कार्यक्रममा संघका पूर्वसल्लाहकार विश्वआर्दश पण्डितले घलेले आयोजना गरेको सो अन्तरक्रियामा पूर्वअध्यक्षहरूको अनुपस्थितिको बारेमा चासो राखेका थिए। उनीहरू उच्चस्तरीय समितिका सदस्यहरू समेत हुन्। स्रोतका अनुसार घलेको कार्यशैलीप्रति असन्तोष प्रकट गर्दै उनीहरू कार्यक्रममा सहभागी भएनन्। अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले अन्य पूर्वअध्यक्ष र समितिका सदस्यहरूको भूमिकाको बारेमा घलेलाई प्रश्न गरेका थिए।
कार्यक्रमको अन्तमा बोलेका पूर्वअध्यक्ष घलेले सबै जनाको सुझाव लिएको तर सबै प्रश्नको जवाफ दिन नसक्ने अवस्थामा रहेको बताउँदै सबैलाई लिखित रूपमा उत्तर दिने प्रतिबद्धता व्यक्त गरे।
आचार्यको मिसलिडिंग गर्ने प्रयास
गैरआवासीय नेपाली संघको एकता महाधिवेशनको लागि उच्चस्तरीय समितिका सदस्य समेत रहेका संघका पूर्वउपाध्यक्ष कुल आचार्यले मे महिनामा निर्वाचन नगरेमा संस्था विघटन हुने भन्दै राष्ट्रिय समितिहरूलाई मिसलिडिंग गर्ने प्रयास गरेको एक सहभागीले बताए। कुलजी संस्था खाल्डो जाओस्, केही फरक पर्दैन भन्ने पक्षमा देखिनु भयो। उहाँलाई एकता चाहिएको होइन्, अधिवेशन भए हुन्छ भन्नेमा हुनुहुन्छ, सहभागीले भने।
आचार्यले गैरआवासीय नेपाली संघको विवादका सम्बन्धमा भएको पहिलो फैसलाको अपव्याख्या गर्दै मे महिनामा निर्वाचन नभए अदालतको मान्यता लिने तर्क गरेका थिए।
कार्यक्रममा रविना थापा, जानकी गुरुङ, आनन्द बिष्ट, दिल गुरुङ, नारायण आचार्य, धरम के.सी., केशव पौडेल, विमल सुवेदी, गंगाधार गौतम लगायतले आफ्ना विचार व्यक्त गरेका थिए।