३१ असार २०८२, मंगलवार
Follow Us

जर्मनीमा भव्य रूपमा नेपाल इभिनिङ सम्पन्न (फोटोफिचर)

नेपालब्रिटेन संवाददाता
२२ फाल्गुन २०८१, बिहीबार १४:१९

बर्लिन । जर्मनीको बर्लिनमा आयोजित अन्तर्राष्ट्रिय पर्यटन मेला आइटिबी बर्लिन २०२५ को अवसरमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली राजदूतावास, बर्लिन र नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल इभिनिङ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

नेपालको कला, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सो कार्यक्रम ०४ मार्च २०२५ मा बर्लिनस्थित नेपाली राजदूतावासले आयोजना गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे रहनु भएको थियो।

कार्यक्रममा मन्त्री पाण्डेले नेपालमा पर्यटनका अपार सम्भावनाबारे प्रकाश पार्दै जर्मन नागरिकहरूलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभयो। त्यस्तै, जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेती ले नेपालको पर्यटन, कला, संस्कृति र प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धनबारे मन्तव्य राख्नुभयो।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी ले नेपालको पर्यटन क्षेत्रको वर्तमान अवस्था र प्रवर्द्धनका लागि चालिएका कदमबारे जानकारी गराउनुभयो। साथै, बोर्डका वरिष्ठ प्रबन्धक रोहिणी प्रसाद खनाल ले डेस्टिनेशन नेपाल विषयमा प्रस्तुति दिँदै नेपाल भ्रमणको विशेषताबारे प्रकाश पार्नुभयो।

सोही अवसरमा वल्र्ड ट्राभल नेटवर्क का प्रमुख जुरगेन स्टिनमेरचिजले आफ्नो ४० वर्षे नेपाल भ्रमण अनुभव सुनाउनुभएको थियो। त्यस्तै, नेपाल पर्यटन बोर्डले जर्मनीमा विगत तीन दशकदेखि नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएका दिल गुरुङ लाई पर्यटनदूतको सम्मान प्रदान गर्‍यो।

कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूले नेपाली संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका थिए। नेपाली राजदूतावास, बर्लिनका नियोग उपप्रमुख सागर प्रसाद फुयाल ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

सो समारोहमा विभिन्न देशका राजदूतहरू, पर्यटन क्षेत्रका विज्ञहरू, संघसंस्थाका प्रतिनिधिहरू तथा अन्य करिब २०० जना सहभागी भएका थिए। औपचारिक कार्यक्रमपछि सहभागीहरूका लागि नेपाली परिकार सहितको भोजको आयोजना गरिएको थियो। साथै, उपस्थित सबैलाई नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रचार सामग्रीहरू पनि वितरण गरिएको थियो।

धेरै पढिएको