काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेद्वारा आह्वान गरिएको एकता महाधिवेशनको सन्दर्भमा सदस्यता वितरण सम्बन्धी थप निराशाजनक तथ्यांकहरू सार्वजनिक भएका छन्।
संघलाई विभाजन गरेरै भए पनि आगामी मे महिनामा एकता महाधिवेशन गर्ने उद्देश्यले घलेलाई अगाडि सारेका अभियान्ता तथा पूर्वपदाधिकारीहरूको सक्रियता रहेको देशहरूमा नै सदस्यता वितरण अत्यन्त कमजोर देखिएको छ।
घलेको पक्षमा खुलेर सामाजिक सञ्जालमा समर्थन जनाएका संघका उच्चस्तरीय समिति सदस्यहरू, पूर्वअध्यक्षहरू तथा वर्तमान पदाधिकारीहरू — जस्तै जानकी गुरुङ, गंगाधर गौतम, लोक दाहाल रविना थापा, दिल गुरुगं आदि — को सक्रियता कमजोर रह्यो। उनीहरूको प्रभाव क्षेत्रका देशहरूमा उल्लेख्य सदस्यता दर्ता हुन सकेन। उदाहरणका लागि, जहाँ अघिल्लो पटक २५७३ जनाले १० युरो तिरेर सदस्यता लिएका थिए, त्यही देशमा बेल्जियममा यसपटक निःशुल्क वितरण हुँदा मात्र २१६ जनाले नाम दर्ता गराए।
त्यस्तै, घलेलाई अगाडि बढाउने प्रमुख मध्येका नारायण आचार्य र शशी पौडेलको नेतृत्वमा रहेको नेदरल्याण्डमा केवल ९१ जनाको सहभागिता रह्यो। शेष घलेको आफ्नै कार्यक्षेत्र अष्ट्रेलियामा समेत १७ हजार सदस्य रहेको देशमा यसपटक जम्मा १९९ जनाले मात्र सदस्यता लिए — जुन उनीहरूका लागि गम्भीर संकेत हो।
अध्यक्ष पदको संभावित उम्मेदवार डा. केशव पौडेलको प्रभावक्षेत्र अमेरिकाबाट ७८३ सदस्यता मात्र दर्ता हुन सक्यो। यद्यपि, सदस्यता वितरणमा अपेक्षित सफलता देखाउने मध्ये एक विनोद कुँवर रहेका छन्, जसले दक्षिण कोरियामा राम्रो परिणाम निकाले।
बेलायतबाट घले समूहमा रहेका कुल आचार्यले ३९९ सदस्यता दर्ता गराए। युरोपमा हालसम्म ४ हजार सदस्य मध्ये २ हजारभन्दा बढी सदस्य केवल पोर्चुगलबाट दर्ता भएका छन।
क्षेत्रगत सदस्यता विवरणः
अफ्रिका: ०.४%
अमेरिका: ७.७%
एशिया: १३.९%
ओसियाना: १.३%
युरोप: २२.१%
मध्यपूर्व: ४७.२%
नेपाल: ६.९%
उत्तर कोरिया: ०.५%
प्रमाणीकरणपछि घट्ने सम्भावना
थाइल्याण्ड, इटाली, पोर्चुगल, क्यानाडा, चिली, नेपाल लगायतका मुलुकबाट आएका धेरै आवेदकहरूले सदस्यता प्रक्रियामा आवश्यक प्रकृया नपुगेको पाइएको छ, जसका कारण प्रमाणीकरणपछि कुल संख्या अझै घट्ने देखिन्छ।
नेतृत्वको सम्भावित केन्द्रः मध्यपूर्व
पूर्वअध्यक्ष घलेले कुनै नयाँ अप्रत्याशित निर्णय नगरेमा अध्यक्ष पदको दौडमा आरके शर्मा बलियो रुपमा अघि देखिएका छन्। तथ्यांक अनुसार केवल मध्यपूर्व, मलेसिया र नेपालबाटै करिब ५८% सदस्यता वितरण भएको छ। शर्मा कार्यरत कतारमा मात्रै ३,४३७ सदस्यता दर्ता भएको छ। मध्यपूर्वमा रहेका धेरै नेपालीहरू नेपाल विदामा रहेका बेला सदस्यता दर्ता गरिएकाले नेतृत्व मध्यपूर्वको हातमा पर्ने सम्भावना देखिएको हो।