३१ श्रावण २०८२, शनिबार
Follow Us

मैले गलत गरेको छैन, यो राजनीतिक प्रतिशोध हो – माधव नेपाल

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०८२, बिहीबार १४:३०

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै यसलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका नेता तथा कानून व्यवसायीहरूसँगको छलफलपश्चात् सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष नेपालले आफूले कुनै पनि गलत काम नगरेको र यसको चुनौतीका साथ सामना गर्ने दृढता व्यक्त गरे। ‘मेरो एउटा मान्यता छ, नबिराउनु नडराउनु,’ उनले भने, “मैले करप्सन गरेको छैन। चुनौतीका साथ भन्छु म।’

उनले पछिल्लो घटनाक्रम राजनीतिक प्रतिशोधबाट प्रेरित भएको स्पष्ट देखिएको टिप्पणी गरे। ‘त्यसो भएको हुनाले यस्ता कुराहरू राजनीतिक प्रतिशोधको रूपमा आएको भन्ने सिधै देखिन्छ,’ अध्यक्ष नेपालको भनाइ थियो। उनले थपे, ‘होइन भने अब यसबारेमा अरू कुराहरू त जब कानुनी कुरा भयो, त्यसपछि हेरिन्छ।’

यसअघि अध्यक्ष नेपालले पार्टीका नेताहरू र कानून व्यवसायीहरूसँग पछिल्लो राजनीतिक तथा कानुनी परिस्थितिबारे परामर्श गरेका थिए। पार्टीले यसबारे औपचारिक धारणा छिट्टै सार्वजनिक गर्ने पनि बताइएको छ।

धेरै पढिएको