६ श्रावण २०८२, मंगलवार
Follow Us

एनआरएनए यूके निर्वाचनः समाजसेवामा समर्पित डा. रक्षा थापा उपाध्यक्ष पदको उम्मेदवार

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८२, मंगलवार १०:०७

एनआरएनए यूकेको भविष्य हामी सबै मिलेर बनाऔं

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष पदमा डा. रक्षा थापाले उम्मेदवारी घोषणा गरेकी छन्। आगामी २६ जुलाईमा सम्पन्न हुन गइरहेको निर्वाचनमा उनले खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन्। समाजसेवामा लामो समयदेखि सक्रिय रहँदै आएकी डा. थापा अब एनआरएनए मार्फत अझ सशक्त र संस्थागत रूपमा सेवा गर्ने आकांक्षा लिएर चुनावी मैदानमा उत्रिएकी हुन्।

डा. रक्षा थापा नेपालकै हेटौंडाबाट बेलायतसम्मको यात्रा तय गरेकी एक संघर्षशील र आत्मनिर्भर महिला हुन्। सानो उमेरदेखि नै आत्मनिर्भर बन्ने, शिक्षामा उत्कृष्टता हासिल गर्ने र समाजमा केही योगदान दिने आकांक्षा उनको हृदयमा थियो। साधारण पारिवारिक पृष्ठभूमिबाट आएकी थापाले जीवनका थुप्रै मोडहरूमा कठोर संघर्ष गरिन्। पढाइसँगै पार्ट टाइम काम गरेर आफूलाई अघिबढाउने थापाको जीवनमा शिक्षण पेशाबाट सुरु भएको यात्रा आज बहुआयामिक सफलताको मोडमा आइपुगेको छ।

सन् २०१२ मा उच्च शिक्षाको सपना बोकेर बेलायत आइपुगेपछि उनले यहाँको नयाँ परिवेशमा आफूलाई खपाउनु ठूलो चुनौती थियो। भाषा, संस्कृति, मौसम र आर्थिक कठिनाइहरू उनका लागि सजिलो थिएनन्। तत्कालीन बेलायतमा नेपाली समुदाय अझै पूर्ण रूपमा संगठित थिएन। धेरै नेपाली विद्यार्थीहरू त्यो कठिन समयमा अध्ययन छाडेर नेपाल फर्किन बाध्य भएका थिए। तर डा. थापा ती मध्ये एक थिइनन्। उनले चुनौतीहरूलाई अवसरमा बदलीन्, आफूलाई अझ सशक्त बनाउँदै अगाडि बढिन्।

बेलायतको शैक्षिक क्षेत्रमै उनले एमबीए पूरा गरिन्। त्यसपछि ACCA अन्तर्गतको अध्ययनमा भाग लिइन् र हाल उनी पार्ट क्वालिफाइड छन्। यसैबीच उनले हेल्थ एण्ड सोसियल साइन्समा पीएचडी पनि हासिल गरिन्। पढाइ मात्र होइन, उनले व्यवसायिक क्षेत्रमै पनि आफूलाई स्थापित गरिन्। हाल उनी माया स्पोड लिभिंग, माया इभेन्ट, माया क्रिकेट क्लब र राष्ट्रिय पोशाक घर यूकेजस्ता संस्थाहरू सञ्चालन गरिरहेकी छन्। यी सबै संस्थाहरूमा उनले विशेषगरी महिलाहरूलाई रोजगारी दिएकी छन्, जहाँ ९० प्रतिशतभन्दा बढी कर्मचारी महिला छन्। उनको नेतृत्वमा महिलाहरूलाई आत्मनिर्भर बनाउन व्यापक योगदान पुगेको छ।

तर, डा. थापाको वास्तविक परिचय समाजसेवामै निहित छ। कठिनाइमा परेका नेपालीहरूलाई सहारा दिने काम उनी वर्षौंदेखि गर्दै आएकी छन्। बेलायतमा एयरपोर्टमा अलपत्र परेका नेपालीहरूलाई घरमा आश्रय दिने होस् वा नेपालमा रहेका बाल आश्रम, वृद्धाश्रमहरूमा सहयोग पुर्‍याउने कार्य — सबैमा उनको उपस्थिति रहिआएको छ। उनले विभिन्न च्यारिटी कार्यक्रमहरूमा निरन्तर योगदान दिँदै आएकी छन्। खेलकुद क्षेत्रमा पनि उनले ध्यान दिएकी छन्। हाल उनी दुई जना नेपाली खेलाडीहरूको सम्पूर्ण अभिभावकीय जिम्मेवारी लिइरहेकी छन्।

अब उनले ‘माया फाउन्डेशन’ नामक च्यारिटी संस्था स्थापना गर्ने तयारी गरिरहेकी छन्। यसमार्फत समाजसेवाका गतिविधिहरूलाई अझ संस्थागत र दिगो बनाउने योजना रहेको छ। उनका अनुसार अब समय आएको छ कि सेवा भावनालाई संगठनात्मक रूपमा अघि बढाइयोस्, र एनआरएनए जस्तो अन्तर्राष्ट्रिय संस्थाबाट त्यसको सही प्रतिनिधित्व गरियोस्।

उनले आफैं स्पष्ट शब्दमा भनेकी छन्, “म राजनीति गर्न चाहन्न, तर सकारात्मक सामाजिक परिवर्तनका लागि काम गर्न चाहन्छु।” उनका दृष्टिकोणहरू सादा छन्, तर ती गहिरा र यथार्थपरक छन्। उनी प्रश्न गर्छिन् — के एनआरएनएमा युवाको आवाज आवश्यक छैन? के शिक्षा, व्यवसाय र समाजसेवामा समर्पित महिलाको नेतृत्व कोटामा मात्र सीमित हुनुपर्छ? के अब पनि हामी चिरपरिचित अनुहारहरूमै भर पर्नुपर्छ कि नयाँ पुस्ताको इमानदार, पारदर्शी र काम गर्न सक्ने नेतृत्वको खाँचो छ?

डा. थापा एनआरएनए यूकेलाई नाफा–नोक्सानको व्यावसायिक हिसाबकिताबको संघ नभई, समुदायको आत्मा समेट्ने साझा मञ्चका रूपमा देख्न चाहन्छिन्। उनका लागि एनआरएनए कुनै चुनाव जित्ने उद्देश्य होइन, यो त नेपाली डायस्पोराको क्षमता, विश्वास र संकल्पको प्रतिनिधित्व गर्ने मञ्च हो।

“म तपाईंहरूको साथमा छु — तपाईंहरू पनि मसँग हुनुहोस्,” उनी भन्छिन्, “एनआरएनए यूकेको भविष्य हामी सबै मिलेर बनाऔं। नेतृत्व अब भाषण होइन, काम गर्न चाहने मान्छेहरूको हातमा हुनुपर्छ।”

धेरै पढिएको