११ श्रावण २०८२, आईतवार
Follow Us

प्रेमीले मृत्यु रोजेपछि प्रेमिकाविरुद्ध अनुसन्धान

नेपालब्रिटेन संवाददाता
११ श्रावण २०८२, आईतवार १३:५५

काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–१० घर भएका रिनेश घिमिरे असार ३१ मा मृत अवस्थामा फेला परे । ललितपुरका घिमिरे टिकटकर पनि हुन् । टिकटकमा उनका ६६ हजार फलोअर्स रहेका छन् ।

त्यही टिकटकमा ६ महिनाअघि चिनजान भएकी एक जना युवतीसँग उनको माया बस्यो । दोलखाको सैलुङ गाउँपालिका वडा नम्बर–६ घर भएर हाल काठमाडौं बस्ने रविना खड्का उर्फ सुप्रियासँग उनी प्रेममा रहेका थिए । प्रेम सम्बन्धको बिचमा नै घिमिरेले ‘सुसाइड नोट’ लेखेर मृत्यु रोजेपछि रविना अहिले थुनामा रहेकी छन । उनलाई हिरासतमा राखेर प्रहरी वृत्त चापागाउँले अनुसन्धान गरिरहेको छ ।

रविनाविरुद्ध ‘आत्महत्या दुरुत्साहन दिन नहुने’ कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिएका छन । उनीहरूको बिचमा ६ महिनाअघि चिनजान भएको पाईएको उनले जानकारी दिए । करिब ४ महिनादेखि उनीहरू प्रेम सम्बन्धमा रहेको थाहा भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

प्रेम सम्बन्ध निरन्तरताकै बिचमा रिनेशले जुलाई १५ (असार ३१) मा सामाजिक सञ्जाल फेसबुकमा लेखे– ‘बाउ आमाको बुढेसकालको साहारालाई आज घाँटीमा पासो लगाउन बाध्य बनाउने तिमीलाई उज्वल भविष्यको शुभकामना अनि धेरै धेरै माया, अलबिदा !’ सो नोट लेखेर उनले आत्महत्या गरे । आफूविरुद्ध नोट लेखेर रिनेशले आत्महत्या गरेपछि रविना आफैं प्रहरी कार्यालयमा उपस्थित भइन् ।

परिवारले प्रेमिकाको कारण रिनेशले आत्महत्या गरेको भन्दै साउन ५ मा रविना खड्काविरुद्ध जाहेरी दिए । अहिले प्रहरीले सो घटनामा अनुसन्धान गरिरहेको छ । रविना विरुद्ध प्रहरीले ललितपुर जिल्ला अदालतबाट दोस्रो पटक ५ दिनको म्याद लिएको छ । मृतकको मोबाइल परीक्षण गर्न डिजिटल फोरेन्सिक ल्यावमा पठाइएको एसपी जोशीले जानकारी दिए ।

रविनाले मृतकलाई रकम पनि दिएको अनुसन्धान अधिकृतहरूसँग दाबी गरेकी छन् । तर, हालसम्मको प्रमाणबाट सो कुरा पुष्टि नभएको अनुसन्धान अधिकृतहरू बताउँछन् । रविनाका अनुसार रिनेश सोह्रखुट्टेस्थित उनको डेरामा आउजाउ गरिरहन्थे । रविना पनि टिकटकर हुन् ।

धेरै पढिएको