१७ श्रावण २०८२, शनिबार
Follow Us

चक्रे मिलनसहित १९ जना कम्तीमा ७ दिन हिरासतमा रहने

नेपालब्रिटेन संवाददाता
१६ श्रावण २०८२, शुक्रबार १४:०२

काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तिमा ७ दिन हिरासतमानै बस्ने भएका छन ।

हिजो राति काठमाण्डूको महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाण्डूले अनुमति दिएको हो ।

राति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरुको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।

काठमाण्डूका एसपी कुलदिप चन्दका अनुसार, म्याद थप भएसँगै चक्रे मिलनसहित गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दिप केसी, राहुल खड्कालाई हिरासतमा राखेर अनुसन्धान हुनेछ ।

त्यस्तै, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जीतबहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही पनि हिरासतमा रहनेछन् ।

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई समातेको थियो । पक्राउ परेका अन्य कोही होटलमा आएका ग्राहक समेत भएको पाइएको र कतिपय असंलग्न व्यक्ति भएको पाइएको प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको