– रुबिना शर्मा
चार वर्षअघि म गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको समितिमा सदस्यका रूपमा आबद्ध भएँ। त्यो समय मेरो लागि एउटा सिकाइको चरण थियो—जहाँ म नयाँ व्यक्तिहरूसँग परिचित भएँ, कार्यक्रमहरूमा सहभागी भएँ, र नेपाल फेस्टिभलजस्ता थुप्रै सफल आयोजनाहरूमा सक्रिय भूमिका निर्वाह गरेँ। समितिले मलाई साथ मात्र दिएन, जिम्मेवारी पनि दियो। सचिव सरहको भूमिकामा कार्य गर्न पाउँदा आत्मविश्वास बढ्यो र महसुस भयो—”अब म महासचिव बन्न सक्छु।”
तर उम्मेदवारीको कुरा सुरु गरेसँगै आक्रमणको सुरुवात भयो। म कुनै राजनीतिक पृष्ठभूमिबाट आएकी थिइनँ। मेरो उद्देश्य थियो—समाजसेवा। तर यहाँको प्रणाली फरक रहेछ। उम्मेदवारलाई दलहरूले बनाउने, ‘अर्को पटक बनाइदिन्छौं’ भन्ने वाचा गर्ने परिपाटी रहेछ। अर्को व्यक्ति पनि आकांक्षी हुन सक्छ भन्ने सोच नै नहुने देखियो।
म निर्दोष थिएँ। मेरो काम गर्ने मात्र इच्छा थियो। तर त्यस इच्छाकै कारण ममाथि व्यक्तिगत आक्रमण सुरु भयो। मेरो परिवारसमेत दुखी बनाइयो, चरित्र हत्या गर्न अनेक प्रयास भए। यस्ता चुनौतीका बाबजुद पनि म निर्वाचित हुन सफल भएँ। मिडिया र आम जनसमुदायको साथले मलाई अघि बढ्ने ऊर्जा दियो। तर यही सफलता कतिपयका लागि असह्य भयो। फोटो मिडियामा छापिँदा मलाई कतै पाप गरेजस्तो अनुभूति हुन थाल्यो।
निर्वाचित भएपछि पनि मलाई काम गर्न दिइएन। मेरो अधिकार खोस्न ‘छायाँ पद’ सिर्जना गरियो। समितिभित्रैबाट मलाई कमजोर बनाउने अनेक प्रयास भए। सामाजिक गतिविधिमा समेत अवरोध पुर्याइयो, समानान्तर कार्यक्रमहरू आयोजना गरिन थाले। तर मलाई फरक परेन—किनभने मेरो सोच थियो, “म्यान्डेट पाएँ भने काम गर्छु, नत्र होइन।”
बेल्जियमका स्थानीय निकायहरूसँग सहकार्य गर्दै मैले धेरैलाई सहयोग गर्न सकेँ। तर संस्थाभित्र गुटबन्दी, पूर्वाग्रह र राजनीति हाबी हुँदै गयो। नेपालका दलहरूबीचको गठबन्धनको झल्को यहाँ एनआरएनएभित्र देखियो। वार्षिक साधारणसभामा प्रगतिप्रतिवेदन प्रस्तुत गर्न नपाउनु त्यसकै परिणाम थियो। अर्को पार्टी निकट व्यक्तिलाई संयोजक बनायो तर पार्टीगत स्वार्थको लागि कसैले पनि आवाज उठाउने प्रयास समेत गरेनन् मलाई अनुशासन समितिमा दोषारोपण गरियो, तर के दोष थियो—कहिल्यै प्रस्ट पारिएन।
मिडियाले मलाई साथ दिइरह्यो, “छोरी, नानी” भनेर माया गरिरहे—त्यही पनि मेरो दोष बनाइयो। यो मेरो भाग्य हो, अपराध होइन।
पछिल्लो समय NRNA HLC को नाममा केन्द्रीय अधिवेशन आयोजना गरियो, जसमा बेल्जियमको तत्कालिन नेतृत्व समेत समावेश भयो। म भने सुरुदेखि नै ‘निर्वाचित भनेको निर्वाचित हो’ भन्ने अडानमा रहेँ। मलाई माल्टाको ERM मा देखाएर सत्ताको खेलमा प्रयोग गरियो। मलाई त्यहाँ जाने इच्छानै थिएन तर आफै टिकट काटेर अफिसबाटै सम्मेलनमा गए । त्यसैको कारण पनि केहीले मप्रति आक्रोश पोखे। यहाँ पनि टुंगो लागेन, त्यहाँ पनि। त्यसैले म सबैलाई एक सुझाव दिन चाहन्छु—कसैको सत्ताको संघर्षमा उपकरण नबन्नुहोस् ।
साँचो भन्नुपर्दा अहिलेको एनआरएनएभित्रको लडाइँ संगठनात्मक होइन, राजनीतिक हो। “दोस्रो पुस्ता” भन्ने शब्दमा गहिराइ छैन। यहाँ तपाईं बलियो देखिनुभयो वा प्रिय बनिनुभयो भने तपाईंविरुद्ध गठबन्धन उभिन्छ। शब्दद्वारा आक्रमण, चरित्र हत्या, अपमान—यिनै हतियार बन्छन्। अडान लिनुभयो भने कुनामा लगेर १५ जनाले घरेर रुदै हिड्ने बनाउछन् । केन्द्रका मै हुम भन्नेहरु समेत पछि भोट आउदैन भनेर डराउछन ।
मलाई करिब ८–९ महिनासम्म काम गर्न दिइएन। न जनताका मुद्दा उठाइए, न,नै समितिभित्र बोलेर न्यायको खोजी गरियो। कतिपय “सामाजिक अभियन्ता” नामधारीहरू समेत राजनीतिक स्वार्थले मौन बसे। उनीहरू धेरै स्वकेन्द्रित, पूर्वाग्रही छन्, र पार्टीप्रति वफादार छन्। समाजभित्र त सहयोग देखिन्छ, तर समितिभित्र भने मानसिक रूपमा कमजोर बनाउने प्रवृत्ति विद्यमान छ।
जब तत्कालीन नेतृत्वले संस्थागत प्रणाली ल्याउन सकेन, केन्द्रले नयाँ समिति गठन गर्दै मलाई फेरि जिम्मेवारी दियो। पहिले जस्तै, म फेरि तयार भएँ। इमानदारीपूर्वक काम गरेँ, प्रतिवेदन पेश गरेँ, अधिवेशन सम्पन्न गराएँ र सम्मानपूर्वक आफूलाई स्वतन्त्र गरें। मैले सम्मानपूर्वक संस्थाबाट बिट मार्नको लागि जसरी पनि प्रतिवेदन पेश गर्नु थियो । त्यसैले आफ्नो इमानलाई डगमगाउन दिइन् ।
अब म स्वतन्त्र छु—कुनै गुट, कुनै पदको आकांक्षा छैन। समाजले भूमिका दियो, तर काम गर्न नदिएको यथार्थलाई आत्मसात गर्दै म आभारी छु—अनुभव र मायाका लागि।
यस अभियानले मलाई धेरै सिकायो। विविध पृष्ठभूमिका व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर मिल्यो। प्रवासी नेपाली समाजका लागि योगदान दिन पाउनु मेरो गौरव रह्यो।
मैले “एक पटकको नेपाली, सधैंको नेपाली” भन्ने विश्वास लिएर काम गरेँ। तर संस्थाभित्रको स्वार्थ, गुटबन्दी र राजनीतिले मन दुखायो। म पदको लागि होइन—भावी पुस्ताको प्रतिनिधित्व गर्न, सकारात्मक परिवर्तन ल्याउन आएको थिएँ।
गैरआवासीय नेपाली संघले यदि आफ्नो मूल उद्देश्य सम्झेर, सबैको आवाज समेटेर, युवालाई नेतृत्वमा ल्याएर अघि बढ्न सक्यो भने—म अझै पनि यसलाई सकारात्मक नजरले हेर्नेछु।
अन्त्यमा यत्ति मात्र भन्छु—संस्था र पदको गरिमा कामबाट देखिन्छ, खेलबाट होइन। जब हामी सत्य र आत्मसम्मानको बाटो समात्छौं, सुरुवातमा गाह्रो पर्न सक्छ, तर अन्ततः जित सत्यको हुन्छ।
चार वर्षको यस यात्रामा मैले आरोह–अवरोह दुवै भोगें। उपलब्धिले हर्ष दियो, चुनौतीहरूले अनुभव। म सबैको साथ, सुझाव र आलोचनाप्रति आभारी छु।
(शर्मा एनआरएनए बेल्जियमकी निवर्तमान महासचिव हुन् ।)