२० श्रावण २०८२, मंगलवार
Follow Us

तारकेश्वर–११ का वडाध्यक्ष पक्राउ

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८२, मंगलवार १२:२४

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–११ का वडाध्यक्ष पक्राउ परेका छन् । तारकेश्वर ११ र काठमाडौं महानगरपालिका १६ नम्बर वडाको सिमानाको खोलामा करिडोर निर्माण गर्ने क्रममा गत असार २३ गते भएको झडपपछि परेको किटानी जाहेरीका आधारमा उनी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले उनलाई सोमबार पक्राउ गरेर मंगलबार म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागेको जिल्ला प्रहरी कार्यालय काठमाण्डूका एसपी कुलदीप चन्दले जानकारी दिएका छन । २२ गते काठमाण्डू महानगरपालिकातर्फ खोला मिचेर करिडोर निर्माण गर्न लागिएपछि वडा नम्बर ११ का जनप्रतिनिधिसहित स्थानीयले प्रशर्नन गरेका थिए ।

सो क्रममा केही स्थानीय झडप भएका थिए । झडपमा घाइते भएकाहरूले वडाध्यक्षसहित १३ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । सो जाहेरीपछि हालसम्म वडाध्यक्षसहित ११ जना पक्राउ परिसकेको चन्दले जानकारी दिए । विवादले झडपकै रुप लिएपछि हाल उक्त करिडोर निर्माण रोकिएको छ ।

काठमाण्डू उपत्यका विकास प्राधिकरणले करिडोर निर्माणको ठेक्का पाएको कम्पनीलाई पत्राचार गर्दै उक्त कार्य रोक्न असार २३ गते नै निर्देशन दिएको थियो ।

धेरै पढिएको