काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन सम्भव नभएको बताएकी छन् ।
बिहीबार देशबासीका नाममा सम्बोधन गर्दै उनले नेपालको मौजुदा शासकीय स्वरूपको पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र बाहिर रहेको स्पष्ट गरेकी हुन् ।
शासकीय स्वरूप परिवर्तनका लागि संविधान संशोधन आवश्यक रहेका उनको भनाइ थियो । त्यो काम निर्वाचनपछि बन्ने सरकारले मात्र गर्न सक्ने बताइन् ।
काठमाण्डू महानगरका मेयर बालेन्द्र साह (बालेन) र जेन–जी पुस्ताका युवाले प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन हुनुपर्ने अडान राखिरहेका बेला प्रधानमन्त्री कार्कीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको निर्वाचन हुन नसक्ने बताइन् ।
कार्कीले युवा पुस्तालाई आगामी २१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुन पनि भनिन् ।