३ मंसिर २०८२, बुधबार
Follow Us

मेरो घरको खरानीको कण कणको तपाईँहरूले हिसाब गर्नुपर्नेछ: ओली

नेपालब्रिटेन संवाददाता
२ कार्तिक २०८२, आईतवार ११:५१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित सम्पादकहरूसँग संवाद कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

भ्रष्टाचार गरेको भन्ने लागेमा छानबिन गर्न उनले आग्रह गरे । नेपाल पत्रकार महासंघ र सम्पादक मण्डलले छानबिन गरे हुने उनको भनाई छ । उनले जलेको घरको खरानी बाहेक केही नभएको बताए ।

सरकारले बैंक खाता रोक्ने भनेको उल्लेख गर्दै उनले आफू सांसद, प्रधानमन्त्री रहँदाको तलबभत्ताको केही रकम बैक खातामा रहेको बताए । उनले खातामा २०-२५ लाख रुपैयाँ हुनसक्ने बताए ।

उनले भने ‘मैले एक पैसा भ्रष्टाचार गरिन । ए बाबा तपाईँहरू पनि एउटा टोली बनाएर छानबिन गर्नुस् न, हो । अरूको सक्नुहुन्न भने केपी ओली एउटाको छानबिन गर्नुस् न । गर्दिनुस् त त्यति ल । गर्नुस्, पत्रकार महासङ्घले गरेपनि हुन्छ, सम्पादक मण्डलले गरेपनि हुन्छ । एउटा बनाउनुस् न । अनि, तर के भने मेरो घरको, डढेको घरको खरानीको कण कणको तपाईँहरूले हिसाब गर्नुपर्नेछ । कति कमाएछ भने, नभए त्यो बाहेक त छैन म सँग । त्यही गन्ने होला ? खाता रोक्का गर्ने भनेको पनि सुन्छु ।’

उनले विश्वभरका बैकहरुसँग सोधेर आफ्नो सम्पत्ति छानबिन गर्न पनि चुनौती दिए । उनले सबैको सम्पत्ति छानबिन गर्न पनि आग्रह गरे ।

जब सेनाले ओलीको मोबाइल फोन खोस्यो…
एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी ओलीले बालुवाटार छाडेर भागेपछि नेपाली सेनाले आफ्नो मोबाइल फोन खोसेको बताएका छन् । जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि ओली २४ भदौमा हेलिकोप्टर चढेर बालुवाटारबाट भागेका थिए ।

उनलाई सेनाले मकवानपुरको सुपारेटार ब्यारेकमा राखेको थियो ।

कुराकानीमा ओलीले २४ गतेपछि सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ नखाँदासम्म आफूलाई मोबाइल फोन चलाउन नदिइएको बताए । कार्कीलाई ओलीकै लिखित पत्रका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए ।

‘भदौ २४ गते राजीनामा दिएपछि म सेनाको सुरक्षामा थिएँ । प्रधानमन्त्रीको शपथ ग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिइन्। ओलीले भने, मेरो मोबाइल सिज गरिएको थियो । त्यसकारण भदौ २७ गते बेलुकीसम्म म सम्पर्कमा थिइनँ ।’

 

धेरै पढिएको