 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको नियमित तथा विशेष महाधिवेशन कुन गर्ने भन्ने वारेमा छलफल शुरु भएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकमा धारणा राख्ने नेताहरुले सरकारले घोषणा गरेको निर्वाचनलाई मध्यनजर गरेर पार्टीको महाधिवेशनको मिति तय गर्नुपर्ने सुझाव दिनुभएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।
पार्टीको महाधिवेशन निर्वाचन अगाडि गर्ने कि पछाडि गर्ने भन्ने बारेमा पार्टी भित्र वहस भईरहेका बेला केन्द्रीय समिति बैठक बसेको हो । पार्टीका करीव ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बिशेष महाधिवेशन गर्न हस्ताक्षर सहित प्रस्ताव पेश गरेपछि बिशेष कि नियमित महाधिवेशनमा जाने ? भन्ने विषय पेचिलो बन्दै गएको छ ।
सभापति देउवा पक्षधरले पार्टीको महाधिवेशन फागुन २१ गतेपछि गर्ने धारणा राखेका छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षधरले नयाँ नेतृत्व लिएर निर्वाचनमा जानु पर्ने भएकाले निर्वाचन अगाडि नियमित त्यो नभए बिशेष महाधिवेशन गर्नुपर्ने अडानमा राखेका छन् ।
संस्थापन पक्षले निर्वाचनमा केन्द्रित हुनु पर्ने बेला महाधिवेशन लाग्न नहुने बताइ रहेको बेला अर्को पक्षले अहिलेको बेला शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचनमा जान नसकिने भएकाले विशेष महाधिवेशन गरेर भएपनि नयाँ नेतृत्व छान्नु पर्ने अडान राखेका छन् ।
यी फरक धारणामा केन्द्रिय समितिले नै यस बारेमा औपचारिक निर्णय दिनु पर्ने भएकाले आजदेखि शुरु भएको बैठकलाइ निक्कै महत्वका साथ हेरिएको छ । बैठकमा बोल्ने सदस्यहरुले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति सहित स्वतन्त्र र निस्पक्ष निर्वाचनको वातावरण बनाएमा निर्वाचनमा सहभागी हुनुपर्ने धारणा राख्नु भएको पनि प्रवक्ता महतले जानकारी दिनुभयो ।