६ मंसिर २०८२, शनिबार
Follow Us

नेपाली कांग्रेसमा दिशाहीनता, न महाधिवेशनको टुंगो, न चुनावी तयारी

नेपालब्रिटेन संवाददाता
६ मंसिर २०८२, शनिबार ०६:१४

काठमाडौं । नेपालका अधिकांश ऐतिहासिक राजनीतिक परिवर्तनहरूमा निर्णायक र नेतृत्वदायी भूमिका खेलेको नेपाली कांग्रेस पछिल्लो समय भने आफ्नै आन्तरिक कलहमा रुमलिएको छ । विशेषतः गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनपछि बदलिएको राजनीतिक माहोललाई आत्मसात गर्दै पार्टी पुनर्गठन गर्नुपर्ने बेला कांग्रेस नेतृत्व अनिर्णयको बन्दी बनेको छ ।

देशमा ‘जेनजी’ आन्दोलनको रापताप सेलाउन नपाउँदै आगामी २१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ । यही निर्वाचनलाई केन्द्रमा राखेर कांग्रेसभित्र १५औँ महाधिवेशनको रस्साकस्सी सुरु भएको छ । महाधिवेशन चुनावअघि गर्ने कि पछि ? भन्ने प्रश्नमा कांग्रेसले एक महिना बितिसक्दा पनि ठोस निर्णय लिन सकेको छैन ।

बैठकको शृङ्खला : निष्कर्षविहीन र स्थगित
महाधिवेशनको समयतालिका तय गर्न २८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठक एक महिनाभन्दा बढी समय घर्किसक्दा पनि निष्कर्षविहीन छ । २६ असोजमा बोलाइएको बैठक कार्यसम्पादन समितिमा छलफल लम्बिएपछि २८ गते मात्र सुरु भएको थियो । त्यसयता पटक-पटक बस्दै र सर्दै आएको बैठकले कुनै निकास दिन सकेको छैन ।

पछिल्लो समय २९ कात्तिक, १ र ४ मंसिरमा बोलाइएका बैठकहरू सूचना टाँसेर स्थगित गरिए । शीर्ष तहमा भएका पटक-पटकका छलफलमा सहमति नजुटेपछि शनिबार दिउँसो १ बजेका लागि फेरि केन्द्रीय समिति बैठक डाकिएको छ । तर, नेताहरूबीचको विवाद नसुल्झिएकाले आजको बैठक पनि बस्नेमा संशय कायमै छ ।

पार्टीभित्र असन्तुष्टि चुलिँदै जाँदा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाइसकेका छन् । विधानअनुसार लिखित माग भएको तीन महिनाभित्र (२८ पुससम्म) विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता छ । तर, संस्थापन पक्षले यसलाई बेवास्ता गर्दै आएको नेताहरूले गुनासो गरेका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार संस्थापन पक्षकै २५ केन्द्रीय सदस्यसँगको भेटमा विशेष महाधिवेशन हुन नदिने बताए । हस्ताक्षर प्रमाणीकरणको प्रक्रिया लम्ब्याएर वा रोकेर भए पनि विशेष महाधिवेशनको बाटो छेक्ने र सहमतिमै अघि बढ्ने रणनीतिमा खड्का देखिएका छन् । उनले पार्टीमा अल्पमत र बहुमतको खेल हुन नदिने जिकिर गरे ।

महामन्त्रीद्वयको ‘अल्टिमेटम’ : महाधिवेशन नभए चुनाव नलड्ने
नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा बोकेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित डा. शेखर कोइराला पक्ष चुनावअघि नै महाधिवेशन गर्नुपर्ने अडानमा छन् । उनीहरूले नियमित महाधिवेशनको कार्यतालिका तत्काल ल्याउन दबाब दिइरहेका छन् ।

शुक्रबार महाराजगञ्जस्थित एक होटलमा सभापति शेरबहादुर देउवानिकट २५ केन्द्रीय सदस्यसँगको भेटमा महामन्त्रीद्वयले कडा चेतावनी दिए । उनीहरूले फागुनअघि महाधिवेशन नभए आफूहरू आगामी चुनावमा उम्मेदवार नै नबन्ने स्पष्ट पारेको भेटमा सहभागी एक नेताले जानकारी दिए । यता, कार्यवाहक सभापति खड्का र संस्थापन पक्षका केही नेताहरू भने चुनावपछि आगामी वैशाखमा मात्र महाधिवेशन गर्ने पक्षमा उभिएका छन् ।

सभापति शेरबहादुर देउवाले भने आफूलाई भेट्न पुगेका नेताहरूसँग चुनावअघि महाधिवेशन गर्न आफू सकारात्मक रहेको बताए । तर, उनले आफू नियमित कामबाट बाहिर रहेको भन्दै कार्यवाहक सभापति खड्कासँग छलफल गर्न सुझाव दिए ।

देउवाले ‘जेनजी’ आन्दोलनपछिको परिस्थिति भिन्न रहेको स्वीकार गर्दै पार्टी रूपान्तरण आवश्यक रहेको बताए । चुनावअघि नयाँ नेतृत्व र नीति आउँदा पार्टीलाई फाइदा हुने उनको तर्क थियो । यद्यपि, उनले पार्टीमा विखण्डन आउन नहुने भन्दै सहमतिका लागि कार्यवाहक सभापतिसँगै समन्वय गर्न आग्रह गरे । अहिले कांग्रेसभित्रको मुख्य विवाद नै २१ फागुनको चुनावलाई हेर्ने दृष्टिकोण र त्यसअघि महाधिवेशनको सम्भावना वा अपरिहार्यतामा केन्द्रित भएको छ । आजको बैठकले निकास दिन्छ वा फेरि स्थगनको शृङ्खला चल्छ, त्यो हेर्न बाँकी छ ।

धेरै पढिएको