सौराहामा १ अर्ब ७५ करोड रुपैयाँ लगानीमा पाँचतारे रोयल टुलिप चितवन होटल सञ्चालनमा आएको छ, जसमा स्थानीय संस्कृति झल्किने माझीघर रेस्टुराँ, हेलिप्याड, स्विमिङ पुल, थारू सांस्कृतिक कार्यक्रम लगायत विविध सुविधा छन्।
होटलमा ६५ कोठा, तीनवटा सभा हल, प्लास्टिकजन्य वस्तुको प्रयोग न्यूनिकरणका लागि आफ्नै बोटल फ्याक्ट्री, र अपांगतामैत्री संरचना रहेको छ।
स्थानीय उत्पादन र जनशक्तिलाई प्राथमिकता दिइएको होटलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ।
काठमाडौँ — सौराहामा पाँचतारे होटल रोयल टुलिप चितवन सञ्चालनमा आएको छ । फ्रान्सको लुभ्र होटल्स ग्रुपको ब्रान्ड रोयल टुलिप चितवनलाई केटीएम हस्पिटालिटीले सञ्चालन गरिररहेको छ ।

हेलिप्याडसमेत रहेको चार एकड क्षेत्रफलमा फैलिएको होटल परिसरभित्रै ‘माझी घर’ नाम राखि चौबीसै घण्टा खुला हुने रेस्टुराँ समेत छ । जहाँ होटलमा आएका पर्यटकदेखि बाहिरका पर्यटक पनि जान पाउने छ । रिसोर्ट क्षेत्रमा मात्रै २०० भन्दा बढि प्रजातिका बोटबिरुवा रोपिएको समेत कम्पनीले जनाएको छ ।
स्थानीय आदिवासी थारू र माझी समुदायको संस्कृति र परम्पराबाट प्रेरित भएर रेस्टुराँको नाम माझीघर राखिएको छ । जहाँ खाना खान आउनेले आत्मीय वातावरणमा स्वादिला र स्वास्थ्यवर्द्धक परिकार खान पाइने छ । माझीघरमा स्थानीय संस्कृति र अन्तर्राष्ट्रिय प्रभाव दुवैको मिश्रण रहने केटीएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह बताउँछन् ।
सुपेरिएर, डिलक्स, प्रिमियम रूम (पेट फ्रेन्डली), पुल भिला, वाटर भिला, मचान गरी ६५ वटा कोठा छन् । वाटर भिला-३ र पुल भिला-४ वटा छ । उक्त पाँचतारे रोयल टुलिपका कोठाको मूल्य १७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पर्नेछ । होटलमा ज्ञान सदन, ध्यान सदन, वेदा सदन गरि तीन वटा हलहरू छन् । जहाँ ५ सय जनाभन्दा बढी मानिस अटाउँछन् ।
प्लास्टिकजन्य वस्तु प्रयोग नगर्ने उद्देश्यले होटलले आफ्नै बोटल फ्याक्ट्री स्थापना गरेको छ । जहाँ दैनिक ७५० मिलिलिटरको ५०० वटा सिसाको बोटल उत्पादन गर्ने क्षमता छ । होटल परिसरमा स्विमिङ पुल, जकुजी, किड्स प्लेयिङ जोन, बोटिङ र फिसिङलगायत सुविधा छ । होटल परिसरमै थारू संस्कृति देखाउन हरेक दिन राती थारू कल्चरल सो हुनेछ ।