१५ पुष २०८२, मंगलवार
Follow Us

बेलायतमा पहिलोपटक गुन्जिँदै ‘मंगोलियन हार्ट’

नेपालब्रिटेन संवाददाता
२४ मंसिर २०८२, बुधबार ०३:०४

‘मंगोलियन हार्ट’ बेलायतमा गुन्जिने भएको छ। ब्यान्डले पहिलोपटक बेलायतमा लाइभ प्रस्तुति दिन लागेको हो। ब्यान्ड सदस्यहरू बुधबार (१० डिसेम्बर) मा लाइभ कन्सर्टका लागि नेपालबाट प्रस्थान गर्दै छन्।

मुख्य कन्सर्ट १३ डिसेम्बरमा ह्यारो सेन्टर, लन्डनमा हुनेछ। यस विशेष कन्सर्टको आयोजना जिटी बेस इन्टरटेन्मेन्टले गरेको हो। कन्सर्टमा ब्यान्डका चर्चित गीतहरू लाइभ गुन्जिनेछन्।

ब्यान्डका पर्खाइमा, बादलपारिको देशबाट, गाजलु टीका, सुम्निमा, म माया लाउँदिनँ, तिमीलाई देखेर, सायद तिम्रो बाटोमा लगायत दर्जनौँ गीत हिट छन्। ब्यान्डका म्यानेजर तथा गिटारिस्ट बोबी लामाले कार्यक्रमको सबै तयारी पूरा भैसकेको जानकारी दिए।

‘हामी सबै तयार छौँ र युकेका दर्शकहरूलाई लाइभ प्रस्तुतिसँग जोडिन पाउँदा लालायित पनि छौँ,’ उनले भने। ३३ वर्षअघि सन् १९९२ मा स्थापना भएको मंगोलियन हार्टले लोक, स्लो रक, पप मेलोडीलगायतका जनताका गीत गाएको छ।

ब्यान्डमा राजु लामासहित रिदम गितारमा बबी लामा, ड्रममा सन्तोष थापामगर, लिड गितारमा भूपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन रहेका छन्।

धेरै पढिएको