१० पुष २०८२, बिहीबार
Follow Us

ज्ञानेन्द्र शाही भन्छन्– युवासँगै नयाँ शक्ति मिलेर जानु एक र अन्तिम विकल्प

नेपालब्रिटेन संवाददाता
१० पुष २०८२, बिहीबार १३:३७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीले काठमाडौँमा महानगरपालिकाका प्रमुख बालेन्द्र साहले वैकल्पिक शक्तिहरू मिलेर जानुको विकल्प नरहेको भन्दै युवा शक्ति मिलेर जाने प्रस्ताव गरेको बताएका छन् ।

बिहीबार कुरा गर्दै शाहीले महानगर प्रमुख शाहसँग चरण चरणमा छलफल भएको पुष्टि गर्दै नयाँ शक्ति र युवाहरू एकीकृत भएर जाने विषयमा छलफल भएको बताए ।

उनले मुलुकको विकास र जनताको अपेक्षा पूरा गर्न वैकल्पिक शक्तिहरू मिलेर जानु नै अन्तिम विकल्प भएको बताए । उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा पकड बनाउने गरी वैकल्पिक शक्तिहरू मिल्नुपर्नेमा आफ्नो जोड रहेको पनि बताए । उनले निर्वाचनको लागि मात्रै नभई मुलुकको दीर्घकालीन हितका विषयहरूलाई मध्यनजर गर्दै अगाडि बढ्नुपर्ने आफ्नो धारणा रहेको समेत बताए ।

शाहीका अनुसार भेटघाटमा देश निर्माणका लागि विभिन्न युवाशक्ति र वैकल्पिक शक्तिहरू एकजुट भएर अघि बढ्ने सम्भावनाबारे छलफल छ । उनले तत्काल कुनै निश्चित निर्णय भई नसकेको भन्दै राजनीतिक सहकार्यको टुङ्गो लागिसकेपछि थप विषय सार्वजनिक हुने बताए ।

उनले भने ‘उहाँ (बालेन्द्र शाह) सँग हिजो र आज पनि छलफल भयो । जतिपजि युवाशक्ति र वैकल्पिक शक्तिहरू छौँ । सबै एकजुट बनेर राष्ट्र निर्माण गर्न मिलेर अगाडि बढौँ भन्ने कल्पनाका साथ हामी भेटघाट गरिरहेका छौँ । अब यही नै गर्ने भन्ने निश्चित भइसकेको छैन । अब पार्टीहरू मिलाएर जाने हो कि ? के गर्ने भन्ने छलफलमा छौँ । छलफल केही आन्तरिक र केही बाहिरी कुरा समेत भएकोले यी कुराहरू वार्ता सकिएपछि थाहा भइहाल्छ । अहिले विशेष गरी युवाशक्तिहरु मिलेर जानुपर्छ भन्ने कुरामा नै छलफल केन्द्रित भयो ।

वैकल्पिक शक्तिहरू मिलेर जानुको विकल्प छैन । त्यो मात्र एक र अन्तिम विकल्प हो । फेरी यो के हो भने शक्ति बन्ने कुरा हो । शक्ति एकलबाट बन्दैन । यदि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदिएको भए एक जना व्यक्ति मात्र पपुलर भएर काम हुन्थ्यो । यहाँ त १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो पकड जमाउन सक्नुपर्छ । निर्वाचन जितेर आइसकेपछि संसदमा बहुमत पुर्‍याउन सक्नुपर्यो । त्यसकारण हामी कसरी अगाडि बढ्ने ? चुनाव जित्नु मात्र मुख्य मुद्दा होइन । चुनाव जितेपछि हामीले गर्नुपर्ने के हो ? कसरी हामीले यो खर्चिलो व्यवस्थालाई धान्न सक्छौँ ? भन्ने विषयलाई मध्यनजर गर्दै अगाडि बढ्दा राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’

शाहीले राम्रा मान्छेहरू नमिलेकै कारण मुलुकले सामाजिक आर्थिक समृद्धि हासिल गर्न नसकेको टिप्पणी पनि गरे ।

धेरै पढिएको