१८ पुष २०८२, शुक्रबार
Follow Us

समानुपातिकमा ५८ दल मात्र सहभागी हुने

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८२, शुक्रबार १३:०२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ ।

आयोगले शुक्रवार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिएका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूचि पेस गरेको उनले जानकारी दिए । बन्दसूचि पेस गर्ने दलहरूमध्ये ५४ वटा दलले आ–आफ्नै निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूचि पेस गरेका छन् ।

उनले यसअघि बन्दसूची पेस हुनुअघि नै मतपत्र छपाईको काम गरिएको भएकोले सबै दलका चुनाव चिन्ह समेटेर मतपत्र छापिने गरेको बताए । तर यसपटक भने समानुपातिक बन्दसुची पेस गरेका दलहरूको चुनाव चिन्ह मात्रै राखेर मतपत्रको छपाई गरिने उनले जानकारी दिए । उनका अनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने लगभग निश्चित भएको छ । यद्यपि आयोगले बन्दसूचीको रुजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूचि अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उनले बताए ।

धेरै पढिएको