६ माघ २०८२, मंगलवार
Follow Us

अमेरिकामा तमाङ समुदायद्वारा सोनाम ल्होछार भव्य रूपमा मनाउने तयारी

नेपालब्रिटेन संवाददाता
५ माघ २०८२, सोमबार २१:१४

क्यालिफोर्निया। अमेरिका तमाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्निया अमेरिकाले तमाङ समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व सोनाम ल्होछार–२०२५ विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाउने तयारी पूरा गरेको जनाएको छ।

संस्थाका अनुसार तमाङ जातिको सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनमा ल्होछार परम्पराको विशेष महत्व रहँदै आएको छ। चन्द्र पात्रोका आधारमा मनाइने ल्होछार तमाङ संस्कृतिको अभिन्न अङ्ग भएको उल्लेख गर्दै संस्थाले यस पर्वले तमाङ समुदायको पहिचान, एकता र सांस्कृतिक निरन्तरतालाई बलियो बनाउँदै आएको बताएको छ।
सोनाम ल्होछार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमार्फत मनाइने गरिन्छ। यस अवसरमा घरघरमा पूजाआजा गर्ने, गुम्बा तथा मठमन्दिरमा पूजा–अर्चना गर्ने, आफन्तजनसँग भेटघाट गर्ने तथा शुभकामना आदान–प्रदान गर्ने परम्परा रहेको छ।

यसै क्रममा आगामी जनवरी २५, शनिबार, क्यालिफोर्नियाको ल्होछार रिसेप्सन स्थलमा “ल्होछार रिसेप्सन कार्यक्रम–२०२५” आयोजना गरिने जनाइएको छ। कार्यक्रममा तमाङ जातिको मौलिक संस्कृति झल्कने नृत्य, भेषभूषा, सांगीतिक प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिनेछ।

विशेष रूपमा लोकप्रिय गायक राजु तमाङको सांगीतिक प्रस्तुति कार्यक्रमको आकर्षण रहने आयोजकले जनाएको छ। साथै, कार्यक्रममा तमाङ समुदायका अग्रज, बुद्धिजीवी, कलाकार, युवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममार्फत तमाङ भाषा, कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै अमेरिका लगायत प्रवासमा रहेका तमाङ समुदायबीच आपसी सद्भाव, एकता र सहकार्य सुदृढ गर्ने लक्ष्य राखिएको आयोजक संस्थाले जनाएको छ।
तमाङ को–अपरेसन सोसाइटी अफ क्यालिफोर्निया अमेरिकाले सम्पूर्ण तमाङ समुदाय, शुभेच्छुक तथा सञ्चारकर्मीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन हार्दिक अनुरोध गरेको छ।

धेरै पढिएको