काठमाडौँ । चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ ।
चीनको थियानचिनमा ‘बैंक फर इन्टरनेसनल सेटलमेन्ट्स’ द्वारा आयोजित बिसौँ एसिया प्यासिफिक हाई लेभल मिटिङ अन ब्याङ्किङ सुपरभिजन’ कार्यक्रममा उनीहरुबीच भेट भएको हो । भेटमा उनीहरूबीच दुई केन्द्रीय बैंकबीच सहयोग र सहकार्यका विविध विषयमा कुराकानी भएको गभर्नर पौडेलको सचिवालयले जनाएको छ ।
भेटका अवसरमा उनीहरूबीच नेपाल र चीनबीच सीमापार भुक्तानी, लगानी तथा सहयोग आदान–प्रदानका क्षेत्रका अवसर र चुनौती, वित्तीय क्षेत्रका उदीयमान अभ्यास, नवप्रवर्तन र प्रविधिको विकासबाट हुने लाभ र समसामयिक विषयमा दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा छलफल भएको थियो । यसका अतिरिक्त दुवै मुलुकका नागरिकको भ्रमणका क्रममा क्युआर कोडमार्फत हुने भुक्तानीको सहजीकरण तथा लागत न्यूनीकरण गर्ने विषयमा समेत उनीहरुबीच छलफल भएको सचिवालयले जनाएको छ ।
त्यस अवसरमा पिबिओसीका गभर्नर फानले विद्युतीय भुक्तानी कारोबारको आधुनिकीकरण, सहयोग आदान–प्रदान र सहकार्यका लागि चिनियाँ केन्द्रीय बैंक तयार रहेको धारणा राखे । गभर्नर पौडेलले दुई केन्द्रीय बैंकबीच सहकार्य, समन्वय र सञ्चारको निरन्तरता आवश्यक रहेको र यसका लागि आवश्यक भूमिका निर्वाह गर्न नेपाल राष्ट्र बैंक तत्पर रहेको विचार व्यक्त गरे ।
भेटमा पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का अन्तरराष्ट्रिय विभागकी महानिर्देशक चउ यु तथा राष्ट्र बैंकका तर्फबाट बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घबहादुर रावल र गभर्नरको कार्यालयका सहायक निर्देशक रोशन न्यौपानेलगायत सहभागी थिए ।