१८ माघ २०८२, आईतवार
Follow Us

देउवाको ‘मौनव्रत’ले कार्यकर्तामा अलमल

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८२, आईतवार ०७:५०

काठमाडौं । देशभर यतिबेला चुनावी सरगर्मी बढेको छ । कांग्रेसका उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्, चोक-चौतारामा कोणसभाहरू भइरहेका छन् । तर, पाँच पटक देशको प्रधानमन्त्री र दुई कार्यकाल पार्टीको बागडोर सम्हालेका शेरबहादुर देउवा भने यो कोलाहलबाट पूर्णतः विमुख छन् ।

शुक्रबार सहिद दिवसको अवसरमा समेत देउवाको मौनता टुट्‌न सकेन, न त उनले कुनै सार्वजनिक शुभकामना सन्देश नै जारी गरे । विशेष महाधिवेशनबाट गगन थापाले पार्टी नेतृत्व हातमा लिएसँगै देउवा बालुवाटारस्थित निवासमै सीमित भएका छन् । निर्वाचन आयोगले थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिँदै अभिलेख अद्यावधिक गरेपछि देउवाको असन्तुष्टि र मौनता थप रहस्यमय बनेको छ । उनले न त नवनिर्वाचित सभापति थापालाई बधाई दिएका छन्, न त आफ्नो सामाजिक सञ्जाल (फेसबुक/एक्स) बाट ‘सभापति’ को हैसियत नै हटाएका छन् ।

देउवा निकट स्रोतका अनुसार, सत्ता र शक्ति गुम्दाको पीडा तथा पार्टीभित्रको अप्रत्याशित समीकरण बदलिएपछि उनी गहिरो असन्तुष्टिमा छन् । यो असन्तुष्टि गत ५ माघको मध्यरातमा उत्कर्षमा पुगेको थियो । एकातर्फ थापा नेतृत्वको समितिलाई अवैधानिक भन्दै अदालत गुहारेका देउवा, अर्कोतर्फ सोही नेतृत्वको हस्ताक्षरबाट चुनाव लड्न अन्तिम समयसम्म प्रतीक्षारत थिए । गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत सिफारिस भए पनि पार्टीको नयाँ नेतृत्वले उनलाई टिकट थमाएन ।

राति १२:२० बजेसम्म टिकटको आशमा बसेका देउवा अन्ततः निराश बन्दै उम्मेदवार नबन्ने घोषणा गर्न बाध्य भए । लगत्तै उनका ठाउँमा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले टिकट पाए । यद्यपि, देउवा पक्षले सिफारिस गरेका विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशशरण महतसहित ३५ जना नेताले भने टिकट पाएका छन् । तर, देउवा आफैं रिङआउट भएपछि उनका समर्थकहरूमा नैराश्यता छाएको छ ।

धेरै पढिएको