गगन थापा १० हजार मतान्तरले जित्ने अनुमान
सर्लाही। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ बाट उल्लेख्य मतान्तरले विजय हासिल गर्ने प्रारम्भिक सर्वेक्षणले देखाएको छ।
फागुन २१ गते हुने निर्वाचनमा पार्टी सभापतिको जित सुनिश्चित गर्न नेपाली कांग्रेस मधेश प्रदेश एक भएर पार्टीका सबै संयन्त्र परिचालन गरिएको नेपाली कांग्रेस मधेश प्रदेशका प्रमुख तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवले बताएका छन्।
शनिबार सर्लाही जिल्लाका विभिन्न चुनावी कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री यादवले गगन थापाको सर्लाहीबाट उम्मेदवारी दिनु गौरवको विषय भएको बताए। “हामी सभापतिज्यूलाई निराश पार्दैनौँ। हाम्रो जित सुनिश्चित छ,” उनले भने। थापा प्रधानमन्त्री बनेपछि मधेश प्रदेशको मुहार फेरिने र मधेश ‘स्मार्ट प्रदेश’का रूपमा स्थापित हुने उनले दाबी गरे।

नेपाली कांग्रेस मधेश प्रदेश स्रोतका अनुसार प्रारम्भिक अध्ययनले गगन थापा १० हजारभन्दा बढी मतान्तरले विजयी हुने अनुमान गरिएको छ।
नेपाली कांग्रेस प्रदेश उपसभापति चन्द्रशेखर यादवले गगन थापाको जितमा कुनै शंका नगर्न आग्रह गरे। उनले नेपाली संस्कारअनुसार घरमा आएका पाहुनालाई निराश पार्ने चलन नभएको उल्लेख गर्दै सभापतिको जित सुनिश्चित गर्न सक्रिय रहन कार्यकर्ताहरूलाई अनुरोध गरे।
यसैबीच, नेपाली कांग्रेस मधेश प्रदेशका सञ्चार संयोजक नितेश गुप्ताले थापासँग प्रतिस्पर्धामा रहेका अमरेश कुमार सिंहप्रति आलोचना गर्दै यसपटकको निर्वाचनमा उनको जमानत जफत हुन सक्ने दाबी गरे। उनले गगन थापा १५ हजार मतान्तरले विजयी हुने दाबीसमेत गरे।
निर्वाचन अभियानमा प्रदेश स्वास्थ्य मन्त्री जंगीलाल यादवलगायत पार्टीका नेता तथा कार्यकर्ताहरू सक्रिय रूपमा थापाको पक्षमा जुटिरहेका छन्। उनीहरू रातिसम्म निर्वाचन क्षेत्रका टोल–टोलमा पुगेर मतदातालाई रुख चिन्हमा मतदान गर्न आग्रह गरिरहेका छन्।
