२५ माघ २०८२, आईतवार
Follow Us

डा. हेमराज शर्माको उम्मेदवारीले सकारात्मक ऊर्जा दिएको छ : एनआरएनए अध्यक्ष महेश श्रेष्ठ

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८२, आईतवार १४:३६

निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संघको आगामी निर्वाचन परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार नै सम्पन्न हुने स्पष्ट पारेका छन् ।

गैरआवासीय नेपाली संघका अध्यक्ष पदका प्रत्यासी डा. हेमराज शर्माको उम्मेदवारी घोषणा सभालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अधिकतम प्रतिनिधिहरूलाई काठमाडौँमा उपस्थित गराई निर्वाचन सम्पन्न गर्ने प्रयास गरिने बताएका हुन् । उनले परराष्ट्र मन्त्रालयले एनआरएनएको १२औँ महाधिवेशन तथा निर्वाचन प्रक्रियाबारे स्पष्ट निर्देशन दिएको उल्लेख गर्दै सोही निर्देशनअनुसार कार्यविधि तयार गरी निर्वाचन गरिने बताए ।

“परराष्ट्र मन्त्रालयले अधिकतम उपस्थितिका साथ निर्वाचन गर्न निर्देशन दिएको छ,” अध्यक्ष श्रेष्ठले भने, “हामी सोही अनुसार कार्यविधि बनाएर निर्वाचन सम्पन्न गर्छौँ ।”

डा. हेमराज शर्माको उम्मेदवारीप्रति शुभकामना व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले डा. शर्माको उम्मेदवारी सकारात्मक र ऊर्जाशील रहेको बताए । उनले डा. शर्मासँगको लामो सहकार्य स्मरण गर्दै लोकतान्त्रिक अभियानमा उहाँको योगदान उल्लेख गरे ।

“जापानको चुकुवा युनिभर्सिटीदेखि नै हाम्रो चिनजान भएको हो । लोकतान्त्रिक अभियानकै क्रममा नजिकिएको सम्बन्ध हो,” उनले भने, “त्यहीँदेखि डा. शर्मा एनआरएनए अभियानमा सक्रिय रूपमा जोडिनु भयो । निरंकुश शासनविरुद्धको आन्दोलनमा उहाँले ठूलो सहयोग गर्नुभएको छ ।”

शर्मा महासचिव र आफु कोषाध्यक्ष रहँदा नजिकबाट सँगै काम गर्ने अवसर पाएको बताउँदै उनले डा. शर्माको टिमवर्क क्षमताको खुलेर प्रशंसा गरे । “हामी असाध्यै मिलेर काम ग-यौँ । उहाँमा टिमवर्क गरेर सबैलाई समेटेर लैजाने राम्रो क्षमता छ,” उनले भने ।

अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा एनआरएनएभित्र थुप्रै सुधारका काम सुरु भएको उल्लेख गर्दै सन् २०२१ पछि निर्वाचन प्रणालीकै कारण संस्था विभाजनतर्फ गएको बताए । “निर्वाचनकै कारण संस्था विवादमा फस्यो । तीन जना अध्यक्ष बनाएर पनि मिलाउन प्रयास गरियो, तर त्यो सफल हुन सकेन,” उनले भने, “विवादले संस्था र अभियान दुवै कमजोर बने, एनआरएनएप्रतिको दृष्टिकोण नै नकारात्मक बन्दै गयो ।”

हाल एकीकरण अभियानको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले बृहत् एकता बिना निष्कर्षमा पुग्न नसकिने बताए । “सबै मिलेर बृहत् एकता सम्पन्न गरे मात्र संस्थाले सही दिशा लिन्छ,” उनले भने, “सबैलाई अपनत्व हुने गरी निर्वाचन सम्पन्न गरेर एकताको अभियान सफल बनाउने हाम्रो योजना छ ।”

धेरै पढिएको