काठमाडौँ । रौतहटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका वडा नं. ४ स्थित गौर–गंगापिपरा सडकखण्ड अन्तर्गत झाझपुल नजिकै आज बिहान मोटरसाइकल दुर्घटना हुँदा श्रीमान्–श्रीमतीको मृत्यु भएको हो ।
महाशिवरात्रिको अवसरमा भगवान शिवलाई जल अर्पण गर्न हिँडेका श्रीमान–श्रीमतीको सवारी दुर्घटनामा ज्यान गएको हो ।
बिहान करिब साढे पाँच बजेको समयमा गंगापिपराबाट गौरतर्फ आउँदै गरेको भारतीय बिआर३०यु१३७१ नम्बरको मोटरसाइकल सडकबाट करिब ५० मिटर तल सिसौको रुखमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र २१ वर्षीया उनकी श्रीमती गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार दुवै जना टाउको, मुख तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत अवस्थामा फेला परेका थिए ।
महाशिवरात्रिको अवसरमा भगवान शिवलाई जल अर्पण गर्न हिँडेका श्रीमान–श्रीमतीको सवारी दुर्घटनामा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटले घटनाको पुष्टि गर्दै मृतकहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लैजाने तयारी भइरहेको जनाएको छ ।