२१ फाल्गुन २०८२, बिहीबार
Follow Us

निर्वाचन शान्तिपूर्ण: कांग्रेस सभापति थापा

नेपालब्रिटेन संवाददाता
२१ फाल्गुन २०८२, बिहीबार १२:२०

नेपाली कांग्रेसका सभापति गगन थापाले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

आज निर्वाचन सकिएपछि विज्ञप्ति जारी गर्दै सभापति थापाले भनेका छन्, ‘केही निर्वाचन क्षेत्रमा भएका केही घटना बाहेक शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएकोमा सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छौं।’

निर्वाचन सफल बनाउन अहोरात्र खटिएका राष्ट्रसेवक कर्मचारी र सम्पूर्ण सुरक्षा निकायप्रति उनले बधाई पनि दिएका छन्।

‘प्रतिनिधि सभाको निर्वाचनमा देशव्यापी रूपमा मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको नेपाली निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको छ। निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्नुहुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइप्रति म नेपाली काग्रेस पार्टीका तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन्।

जनताको सक्रिय सहभागिताले लोकतान्त्रिक प्रणालीप्रति गहिरो विश्वासलाई पुष्टि गरेको र राजनीतिक दलहरू तथा अब बन्ने सरकारलाई जनअपेक्षा अनुसार काम गर्न थप जिम्मेवार बनाएको उनले बताएका छन्।

‘निर्वाचनमा जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नु भएका राजनीतिक दलहरू, सञ्चारकर्मी मित्रहरू तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूप्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले भनेका छन्।

धेरै पढिएको