काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा आफ्नो राजनीतिक विरासतलाई थप बलियो बनाउँदै सानदार जित दर्ता गरेका छन् । शनिबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार लामिछाने भारी मतान्तरसहित तेस्रोपटक सोही क्षेत्रबाट निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरेकी छन् । लामिछानेले खरेललाई ३९ हजार ४६८ को फराकिलो मतान्तरले पराजित गर्दै चुनावी नतिजा आफ्नो पक्षमा पारेका हुन् ।
प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारमध्ये नेकपा एमालेका अस्मिन घिमिरेले ६ हजार ९९२ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टीका प्रताप गुरूङको पक्षमा ४ हजार ९६९ मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कुल ८७ हजार २८ मत सदर भएको थियो भने २ हजार ७९६ मत बदर भएको जानकारी दिइएको छ ।
लामिछानेको यो जितसँगै चितवन-२ मा उनको पकड पुन: पुष्टि भएको छ । यसअघि २०७९ सालको आम निर्वाचन र २०८० सालमा भएको उपनिर्वाचनमा पनि उनी सोही क्षेत्रबाट अत्यधिक मतका साथ विजयी भएका थिए ।