२० चैत्र २०८२, शुक्रबार
Follow Us

गौतम श्री र गोरखा सहकारी ठगी प्रकरणमा ५ जना पक्राउ

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०८२, शुक्रबार १३:१०

काठमाडौं । सहकारी संस्थामा बचतकर्ताको अर्बौं रकम हिनामिनासम्बन्धी प्रकरणमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गौतम श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र गोरखा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड सँग सम्बन्धित व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गौतम श्री सहकारीका व्यवस्थापक रविन विष्ट पक्राउ परेका छन् । उक्त सहकारीमा ४७९१ बचतकर्ताको जम्मा ४ अर्ब ६ करोड ३९ लाख ४८ हजार रुपैयाँ बचत रहेको देखिएको छ । त्यसमध्ये २ अर्ब ५ करोड ९९ लाख २७ हजार ५०३ रुपैयाँ ऋण प्रवाह भएको विवरण भेटिएको छ । तर बाँकी रकमसम्बन्धी आवश्यक कागजात भने उपलब्ध नरहेको प्रहरीले जनाएको छ ।

यसैगरी गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविनकुमार राई र पूर्व लेखा सदस्य कर्णबहादुर राईलाई पनि पक्राउ गरिएको छ ।

गोरखा सहकारीमा १० हजार ५९८ बचतकर्ताको ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको छ । त्यसमध्ये १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण प्रवाह भएको देखिएको छ भने बाँकी रकमको स्पष्ट विवरण फेला नपरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रवाह गरिएको ऋणसमेत कमसल धितो, बिना धितो तथा बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर दिइएको पाइएको छ । जसका कारण ऋण असुली हुन नसकेको र बचतकर्तालाई रकम फिर्ता गर्न समस्या भएको निष्कर्ष निकालिएको छ ।

पक्राउ परेकामाथि म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको