अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौसेना नाकाबन्दीका क्रममा खाडी क्षेत्रमा इरानी झण्डा बोकेको ‘टोस्का’ नामक कार्गो जहाजलाई नियन्त्रणमा लिएको बताएका छन्।
ट्रम्पका अनुसार चेतावनीको बेवास्ता गरी नौसेनाको नाकाबन्दी तोड्न खोजेपछि अमेरिकी सेनाले उक्त जहाजमाथि आक्रमण गरी कब्जामा लिएको हो।
अमेरिकी राष्ट्रपतिले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज इरानी झण्डा बोकेको जहाज टोस्काले नौसेना नाकाबन्दी तोड्ने प्रयास गर्यो र असफल भयो। यो जहाज ९०० फिट लामो र लगभग विमान वाहक जत्तिकै गह्रौं छ।’
उनले अमेरिकाले जहाजलाई रोक्न दिएको चेतावनीलाई बेवास्ता गरिएपछि उक्त कदम चालिएको बताएका छन्।
अमेरिकी केन्द्रीय कमान्डले सार्वजनिक गरेको भिडियोमा नौसेनाको जहाजले कार्गो जहाजलाई रोकेको र बन्दुकले गोली चलाएको देखिन्छ। यो घटनापछि इरानले यसलाई ‘सशस्त्र डकैती’ को संज्ञा दिँदै बदला लिने चेतावनी दिएको छ।
वार्ताको अन्योल र नाकाबन्दी
अमेरिकी राष्ट्रपतिले इरानसँगको युद्ध अन्त्यका लागि दोस्रो चरणको वार्ता गर्न उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल पाकिस्तान पठाउने पुष्टि गरेका छन्। उक्त प्रतिनिधिमण्डलमा ट्रम्पका सल्लाहकार स्टिभ विटकफ र ज्वाँइ जारेड कुशनर पनि रहने बताइएको छ।
यद्यपि, इरानको सरकारी समाचार एजेन्सी इर्नाले इरानी पक्ष वार्तामा सहभागी हुने रिपोर्टलाई ‘असत्य’ भनेको छ। इर्नाका अनुसार अमेरिकाको ‘अत्यधिक माग, अवास्तविक अपेक्षा र जारी नौसेना नाकाबन्दी’ का कारण तत्काल वार्ताको कुनै सम्भावना छैन। इरानले नाकाबन्दीलाई युद्धविरामको उल्लंघन मानेको छ।
द्वन्द्वको पृष्ठभूमि र वर्तमान स्थिति
गत फेब्रुअरी २८ मा इरानमा अमेरिका र इजरायली आक्रमण भएपछि सुरु भएको यो द्वन्द्वमा पाँच हप्ताको लगातार आक्रमणपछि दुई हप्ताका लागि युद्धविराम भएको थियो। उक्त युद्धविराम आउँदो बुधबार समाप्त हुँदैछ।
इरानको आणविक कार्यक्रम र होर्मुज जलमार्गको नियन्त्रण जस्ता विषयमा दुई देशबिच तीव्र विवाद छ। ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने, जे पनि गर्नु मेरो लागि सम्मानको कुरा हुनेछ।’ उनले सम्झौता नभए इरानका हरेक पुल र पावर प्लान्ट ध्वस्त पारिने धम्की समेत दिएका छन्।
विश्व ऊर्जा बजारमा प्रभाव
होर्मुज जलमार्गबाट विश्वको करिब २० प्रतिशत तेल र तरल प्राकृतिक ग्यास ढुवानी हुने गर्छ। हाल जारी द्वन्द्व र नाकाबन्दीका कारण यो मार्गबाट जहाजहरूको आवागमन ठप्प भएको छ, जसले विश्वव्यापी ऊर्जाको मूल्यमा वृद्धि ल्याएको छ। आइतबार पनि उक्त मार्ग पूर्ण रूपमा बन्द रह्यो।
यसैबिच, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले मध्यस्थताका लागि इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँग कुराकानी गरेका छन्। लेबनानमा भने इजरायलसँगको १० दिने युद्धविराम हालसम्म कायम रहेको छ।
– एजेन्सी