८ बैशाख २०८३, मंगलवार
Follow Us

एमालेको प्रचार सामग्रीमा अटाएनन् केपी ओली

नेपालब्रिटेन संवाददाता
८ बैशाख २०८३, मंगलवार ११:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नो प्रचार सामग्रीमा अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राख्न छाडेको छ ।

एमालेले बुधबार ७७औँ स्थापना दिवस मनाउँदैछ । त्यसअवसरमा च्यासलस्थित केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको छ । तर, महासचिव शंकर पोखरेलले सार्वजनिक गरेको प्रचार सामग्रीमा ओलीको तस्बिर समावेश गरिएको छैन ।

उक्त सामग्रीमा कम्युनिस्ट आन्दोलनका संस्थापक सदस्यहरूसँगै एमालेका पूर्व महासचिव मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका तस्बिर मात्र राखिएका छन् । यसअघि भने एमालेले प्रायः सबै प्रचार सामग्रीमा अध्यक्ष ओलीको तस्बिर प्रयोग गर्दै आएको थियो ।

दुई वर्षअघि एमाले सचिवालय बैठकले सार्वजनिक कार्यक्रमसम्बन्धी ५ बुँदे मापदण्ड जारी गर्दै पार्टी अध्यक्षबाहेक अन्य कसैको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो । कार्यक्रमको गरिमा र मर्यादा कायम राख्ने उद्देश्यले उक्त निर्णयसहित आन्तरिक सर्कुलरसमेत जारी गरिएको थियो ।

यस्तै, गत प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकांश एमाले उम्मेदवारहरूले ओलीको तस्बिरबिनै प्रचार गरेका थिए । स्वयं ओलीले पनि आफ्नो निर्वाचन क्षेत्र झापा–५ बाहेक अन्यत्र चुनावी सभामा उपस्थिति जनाएका थिएनन् ।

पछिल्लो समय एमालेभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गइरहेका बेला प्रचार सामग्रीमा अध्यक्ष ओलीको अनुपस्थिति अर्थपूर्ण रूपमा हेरिएको छ ।

धेरै पढिएको