लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमका दुई कार्यसमितिबीच एकता गर्ने सहमति भएको छ।
संघका पूर्वअध्यक्ष तिर्थ धमलाका अनुसार केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माको उपस्थितिमा अध्यक्षद्वय लोकेन्द्र नेपाल र कमल पन्थीबीच पाँच बुँदे सहमति भएको हो।
सहमति अनुसार दुवै कार्यसमितिको समायोजन गरिनेछ। समायोजनपछि कार्यकारी अध्यक्षका रूपमा कमल पन्थीले आगामी अक्टोबर ११ सम्म नेतृत्व सम्हाल्नेछन् भने लोकेन्द्र नेपालले आगामी एनसीसी निर्वाचन सम्पन्न नभएसम्म संघको नेतृत्व गर्ने सहमति भएको छ।
केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माले एकता कायम गर्न सहयोग गर्ने सम्पूर्ण पक्षलाई धन्यवाद व्यक्त गर्दै बाँकी एनसीसीहरूमा पनि यस्तै सहमति हुने विश्वास व्यक्त गरेका छन्।
एनआरएनए बेल्जियममा एकता गराउन संघका महासचिव चिरञ्जीवी खड्का सहित केन्द्रीय पदाधिकारीहरूको टोली बेल्जियम पुगेको थियो। यसअघि यूएई, फ्रान्स, दक्षिण कोरिया, लक्जेम्बर्ग र माल्टालगायत देशहरूमा पनि एकता प्रक्रिया सम्पन्न भइसकेको छ। साथै, एनआरएनए अमेरिकामा पनि दुई कार्यसमितिबीच एकताको लागि सैद्धान्तिक सहमति भइसकेको जनाइएको छ।
