२७ बैशाख २०८३, आईतवार
Follow Us

देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया अघि बढ्यो, इन्टरपोललाई थप कागजात पठाइयो

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८३, आईतवार ०६:१०

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्र मन्त्री डा. आरजु राणा देउवाविरुद्ध रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार रेड नोटिसका लागि इन्टरपोलले थप कागजात माग गरेपछि एनसीबी (नेसनल सेन्ट्रल ब्यूरो)ले आवश्यक विवरण पठाएको हो । “केही दिनअघि थप कागजात माग गर्दै इमेल आएको थियो। सोही अनुसार आवश्यक कागजात पठाएका छौं” प्रहरी स्रोतले भन्यो ।

यसअघि गत २४ चैतमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया समेत अघि बढाइएको थियो ।

देउवा दम्पतीविरुद्ध रेड नोटिस जारी गराउन एनसीबीले औपचारिक रूपमा इन्टरपोललाई पत्राचार गरेको भए पनि आवश्यक कागजात अपुग भएको भन्दै इन्टरपोलले हालसम्म रेड नोटिस जारी गरिसकेको छैन ।

पक्राउ पुर्जी जारी हुँदा देउवा दम्पती विदेशमै रहेका थिए । उनीहरू गत १४ फागुनमा उपचारका लागि सिंगापुर गएका थिए । त्यसपछि ७ चैतमा हङकङ पुगेको बताइएको छ । यसअघि पनि जेनजी आन्दोलनपछि उपचारका लागि भन्दै उनीहरू सिंगापुर गएका थिए । त्यतिबेला भने उपचारपछि नेपाल फर्किएका थिए ।

तर, यसपटक १४ फागुनदेखि विदेशमा रहेका देउवा दम्पती हालसम्म नेपाल फर्किएका छैनन् । स्रोतका अनुसार उनीहरू अहिले पनि हङकङमै रहेका छन् । यदि इन्टरपोलमार्फत रेड नोटिस जारी भएमा सदस्य रहेका १९६ मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल ल्याउन सकिने व्यवस्था छ ।

धेरै पढिएको