लण्डन । प्रधानमन्त्री बालेन शाहले सोमबार संसदमा देखाएको गतिविधिको विश्वव्यापी रूपमा आलोचना सुरु भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलायत विभागका अध्यक्ष पवन शर्माले मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको संसदमा गरिएको प्रस्तुति असोभनीय भएको बताएका छन्।
राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बालेन बैठकको बीचबाट आकस्मिक रूपमा उठेर हिँडेका थिए। त्यतिमात्र होइन, उनले सामान्य पोशाक लगाएका थिए।
शर्माले भनेका छन्:
“एउटा सामान्य मान्छे कसैको बिहेमा जाँदा समेत औपचारिक पोशाक लगाएर जान्छ। तपाईं त नेपाल देशको प्रधानमन्त्री, अझ आज नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विशेष दिन। नेपालीहरूले तपाईंलाई दौरा–सुरुवाल र भादगाउँले टोपीमा देख्न पाएको भए गजब मान्ने थिए होला, तर त्यो हुन सकेन।
राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकको बीचबाट आकस्मिक रूपमा उठेर हिँड्नु अपमानजनक र असोभनीय कृत्य हो भन्नेमा हामीलाई दुई मत छैन।
तपाईंको स्पष्टीकरण आएपछि सबैलाई थाहा हुने नै छ, तर अहिलेलाई ‘किन?’ भन्ने प्रश्न अवश्य उठेको छ।
हामीलाई थाहा छ, बालेनले नै देश बनाउनेछन्, किनभने त्यो निष्ठाबारे हामी गहिरो जानकार छौं, र आजको नीति तथा कार्यक्रम नेपालीको हितमा छ। यस जगतमा सही कृत्य सधैं सही नै देखिन्छ, गलत गलत नै देखिन्छ।
फितलो पारा देखाएर विरोधीलाई मसला नदिनु होला।
यो देशको मुहार फेर्ने राष्ट्रसेवक बन्न सक्नुहोस्—शुभकामना।”