११ असार २०८३, बिहीबार
Follow Us

नेपाली साहित्य सम्मेलनमा सहभागी हुन आधा दर्जन पत्रकार अमेरिका जाने

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०८३, मंगलवार २२:११

लण्डन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्यसमितिको आयोजनामा तथा अनेसास कोलोराडो च्याप्टरको संयोजनमा अमेरिकाको कोलोराडोमा मे महिनाको तेस्रो साता आयोजना हुन लागेको नवौं अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मेलनका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए।

उनका अनुसार नेपालसहित विश्वका विभिन्न देशबाट करिब १२५ जना साहित्यकार, लेखक तथा पत्रकारहरूको सहभागिता रहनेछ। साथै, कोलोराडो राज्यका ५० भन्दा बढी स्थानीय स्रष्टा र साहित्यप्रेमीको पनि उपस्थिति रहनेछ।

विश्वकर्माले सम्मेलनमा मदन पुरस्कार विजेता डा. नवराज लम्साल, नीलम कार्की निहारिका, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, प्रख्यात अंग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, होमनाथ सुवेदी, राधेश्याम लेकाली, गोवर्धन पूजा, पुरु सुवेदी, मोहन सिटौला, भुटानी साहित्य परिषद्का अध्यक्ष खेम रिजाल ‘ऊर्जा’, पत्रकार तथा लेखकहरू सुधीर शर्मा, बबिता बस्नेत, बसन्त बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, प्रेम बानियाँ, सुरज भण्डारीलगायत गरी १७५ जनाभन्दा बढीको सहभागिता रहने बताए।

चार दिनसम्म सञ्चालन हुने सम्मेलनको अन्तिम दिन सहयोगी व्यक्ति तथा संघसंस्थाहरूलाई सम्मान गरिने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

अनेसासका महासचिव राजु सिटौलाका अनुसार सम्मेलनका लागि कोलोराडोको वेष्टमिन्स्टरस्थित होटल ड्रुरी इनमा ५० भन्दा बढी कोठा बुक गरिएको छ।

मे २२ मा अतिथिहरूको स्वागतार्थ रात्रिभोज आयोजना गरिनेछ भने सम्मेलनको औपचारिक उद्घाटन मे २३ मा गरिनेछ।

मे २३ र २४ मा विभिन्न सत्रहरूमा ख्यातिप्राप्त साहित्यकार तथा लेखकहरूबीच साहित्यका विविध विधामा बहस तथा अन्तर्क्रिया हुने कार्यक्रम रहेको छ। ती दिनहरूमा बिहान योग कार्यक्रम र साँझ काव्य उत्सव पनि आयोजना गरिनेछ।

सम्मेलनको पहिलो दिन ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’ शीर्षकमा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका, पत्रकार तथा लेखकद्वय सुधीर शर्मा र बसन्त बस्नेतबीच बहस हुनेछ, जसको सहजीकरण पत्रकार नारायण श्रेष्ठले गर्नेछन्।

सम्मेलनको अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका ऐतिहासिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गराउने कार्यक्रम पनि तय गरिएको छ।

अनेसासकी केन्द्रीय कोषाध्यक्ष तारा अधिकारीका अनुसार सम्मेलनका लागि करिब ५३ हजार अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ, जसमध्ये ३५ हजार डलर संकलन भइसकेको छ भने बाँकी रकम पनि चाँडै संकलन हुने विश्वास व्यक्त गरिएको छ।

धेरै पढिएको