काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने भएका छन् । भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा उनी दुईदिने औपचारिक भ्रमणका लागि भारत जान लागेको स्रोतले जनाएको छ ।
भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, विदेश सचिव विक्रम मिस्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको बताइएको छ । साथै उनले भारतीय जनता पार्टी (भाजपा)का उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्ने बुझिएको छ ।
स्रोतका अनुसार भारतले यसअघि पनि सत्तारुढ दलका शीर्ष नेताहरूलाई औपचारिक भ्रमण गराउँदै आएको थियो । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भारतले यस्तै प्रकृतिको भ्रमणमा आमन्त्रण गरेको थियो ।
भाजपा निकट एक नेताका अनुसार नेपालमा सबैभन्दा ठूलो पार्टी तथा सत्तारुढ दलको नेतृत्वमा रहेका कारण लामिछानेलाई पनि भारत भ्रमणका लागि निमन्त्रणा गरिएको हो ।
पछिल्लो समय नेपाल–भारत सम्बन्ध केही चिसिएको अवस्थामा लामिछानेको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । लिपुलेकलगायत सीमा विवादका कारण भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमण स्थगित भएको थियो । यस्तै, प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति पनि अझै तय हुन सकेको छैन ।
यसबीच परराष्ट्रमन्त्री शिशिर खनालको भारतका लागि तय भएका दुई भ्रमणसमेत स्थगित भएका छन् । यस्तो परिस्थितिमा रास्वपा सभापति लामिछानेको भारत भ्रमणलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ ।