२९ बैशाख २०८१, शनिबार
Follow Us

दाहालको पक्षमा ३५८ सांसद

नेपालब्रिटेन डट कम्
१८ श्रावण २०७३, मंगलवार १३:४०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनमा १६ दलका ३५८ सांसदको समर्थन प्राप्त गर्नुहुने निश्चित भएको छ ।
व्यवस्थापिका–संसद् सचिवालयले प्रकाशन गरेको सूचनाअनुसार आजको निर्धारित समयमा प्रधानमन्त्रीमा अध्यक्ष दाहालको मात्र उम्मेदवारी परेको छ । सचिवालयका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा नेपाली काँग्रेका सभापति शेरबहादुर देउवा प्रस्तावक रहनुभएको छ भने संसद्का अन्य १६ दलका नेताले समर्थन जनाएका छन् ।
सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुईकेलका अनुसार अध्यक्ष दाहालको उम्मेदवारीमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता परशुराम तामाङ, सदभावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले समर्थन जनाउनुभएको छ ।
त्यस्तै अध्यक्ष दाहाललाई नेकपा (संयुक्त) का जयदेब जोशी, समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह, नेपाली जनता दलका हरिचरण साह, जनजागरण पार्टीका लोकमणि ढकाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का रुक्मिणी चौधरी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राई, थरुहट तराई पार्टी नेपालका गंगा चौधरी (सत्गौवा),मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का योगेन्द्र चौधरी, अखण्ड नेपालका कुमार खड्का, दलित जनजाति पार्टी नेपालका यसोदाकुमारी लामा र स्वतन्त्र सांसद चन्द्रेश्वर झाले समर्थन जनाउनुभएको छ ।

दाहालको पक्षमा ३५८ सांसद
निर्वाचनमा अध्यक्ष दाहाललाई काँग्रेसका २०७, माओवादी केन्द्रका ८१, सङ्घीय समाजवादीका १५, फोरम (लोकतान्त्रिक)का १४, राप्रपाका १२, तमलोपाका ११, सद्भावना पार्टीका पाँच, नेकपा (संयुक्त) तीन, थरुहट तराई पार्टी दुई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का एक, समाजवादी जनता पार्टी एक, नेपाली जनता दल एक, खुम्बुवान राष्ट्रिय मोर्चा एक, अखण्ड नेपाल पार्टी एक, दलित जनजाति पार्टी एक, जनजागरण पार्टी एक र स्वतन्त्र सांसद एक गरी जम्मा ३५८ सांसदले समर्थन जनाउने भएका छन् । यो सङ्ख्या भोलि मतदानको समयसम्ममा अझ बढ्नसक्ने नयाँ गठबन्धनका नेताहरुले बताएका छन् ।
प्रधानमन्त्रीको निर्वाचन भोलि बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रारम्भ हुनेछ । संसद्मा हाल ५९५ सांसद छन् । संसद् नियमावलीअनुसार प्रधानमन्त्रीमा निर्वाचित हुन संसद्मा तत्काल कायम सदस्य सङ्ख्याको बहुमत अर्थात २९८ मत ल्याउनुपर्छ ।