२३ श्रावण २०८३, शनिबार
Follow Us

ढिला होला, तर गलत हुँदैन: प्रधानमन्त्री शाह

नेपालब्रिटेन संवाददाता
२३ श्रावण २०८३, शनिबार ०४:४१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत पछिल्लो राजनीतिक परिस्थितिप्रति संकेत गर्दै धैर्य गर्न आग्रह गरेका छन् । उनले सही समय आउन केही ढिला हुन सक्ने भए पनि आफू गलत बाटोमा नहिँडेको संकेत गरेका हुन् ।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् ।’उनले बाहिरबाट देखिएको वा सुनिएको विषयलाई मात्र आधार बनाएर धारणा नबनाउन पनि आग्रह गरेका छन् । ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ,’ शाहले भनेका छन् ।

प्रधानमन्त्रीको यो अभिव्यक्तिले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे उनीभित्र कुनै गम्भीर तयारी वा निर्णय प्रक्रियामा रहेको संकेत गरेको देखिन्छ । यद्यपि उनले आफ्नो स्टाटसमा कुन विषय वा घटनालाई लक्षित गरेका हुन् भन्ने स्पष्ट पारेका छैनन् ।

त्यसपछि शाहले थप अर्थपूर्ण अभिव्यक्ति दिएका छन् । ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ।’

उनको यो भनाइले राजनीतिक तथा सार्वजनिक वृत्तमा थप चासो पैदा गरेको छ। प्रधानमन्त्री शाहले आफूले विगतमा पनि विभिन्न दबाब, आलोचना र चुनौतीको सामना गर्दै आएको र अहिले पनि त्यस्तै परिस्थितिबाट अघि बढिरहेको संकेत गरेको रूपमा उनको भनाइलाई व्याख्या गर्न थालिएको छ ।

‘नआत्तिनुहोस्’ भन्ने सन्देश किन ?
प्रधानमन्त्री शाहको पछिल्लो स्टाटसमा प्रयोग भएका शब्दहरू सामान्य शुभकामनाभन्दा बढी राजनीतिक सन्देश बोकेको देखिन्छ। विशेषगरी ‘सही समय’, ‘ढिला’, ‘वास्तविकता’, ‘एक्लै लड्नुपर्छ’ र ‘यो पहिलो चोटि होइन’ जस्ता शब्दले कुनै तत्कालीन घटनाक्रम वा निर्णयप्रति उनको संकेत हुन सक्ने अनुमान गर्न सकिन्छ ।

तर उनले कुनै विषयलाई स्पष्ट रूपमा नखुलाएकाले उनको भनाइको वास्तविक आशय भने तत्कालै निष्कर्षमा पुग्न सकिने अवस्था छैन ।

प्रधानमन्त्रीको पदमा रहेका व्यक्तिबाट आएको यस्तो संकेतात्मक अभिव्यक्तिले स्वाभाविक रूपमा राजनीतिक वृत्तमा चासो बढाएको छ । अब उनले आगामी दिनमा यसबारे थप स्पष्ट पार्छन् कि पर्दापछाडि कुनै महत्त्वपूर्ण राजनीतिक निर्णयको तयारी भइरहेको छ भन्ने विषय भने प्रतीक्षाको विषय बनेको छ ।

प्रधानमन्त्री शाहले भने नागरिकलाई तत्काल नआत्तिन आग्रह गरेका छन् । ‘ढिला होला, तर गलत हुँदैन ।’ उनको यही वाक्य अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

धेरै पढिएको