काठमाडौँ । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ ।
सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए ।
उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउन तथा अव्यवहारिक कर र नियम हटाउन सरकारसँग माग गरे । अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्ने बताए ।
सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ ।
कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले आफूहरूले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्दै आएको जानकारी दिए ।
उनका अनुसार सिङ्गापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारतका विभिन्न राज्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ ।
आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुङ्गा, ऋषिकेश मन्दिर, सुपा देउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको सोट्टो नेपालले जनाएको छ । स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवर्द्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन् ।