२५ श्रावण २०८३, सोमबार
Follow Us

बालेन–रविबीच ४५ मिनेट भएको भेटवार्तामा के कुरा भयो ?

नेपालब्रिटेन संवाददाता
२५ श्रावण २०८३, सोमबार ०४:५५

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ बालुवाटारमा ४५ मिनेट भेटवार्ता भएको छ ।

सरकार र रास्वपाबीच पछिल्लो समय बढ्दो संशय र तिक्तताबीच भएको भेटमा सरकार सञ्चालन, राजनीतिक नियुक्ति, मन्त्रीहरूको भूमिकादेखि प्रधानमन्त्री शाह र लामिछानेका प्रस्तावित विदेश भ्रमणसम्मका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

लामिछाने प्रधानमन्त्री शाहलाई भेट्न बालुवाटार पुगेका थिए । पछिल्लो समय प्रधानमन्त्री शाहले आफू विभिन्न चुनौतीसँग एक्लै लड्नुपरेको भन्दै सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि लामिछाने असन्तुष्ट रहेको बताइएको थियो ।

त्यसैलाई लिएर दुई नेताबीच छलफल भएको स्रोतको भनाइ छ । भेटमा केही राजनीतिक नियुक्ति तथा सरकारले चाल्न लागेका सम्भावित कदमबारे पनि कुराकानी भएको थियो ।

विशेषगरी राजदूत छनोट, उच्च तहका नियुक्ति र सरकारमा रहेका मन्त्रीहरूको भूमिकाका विषयमा दुई नेताबीच छलफल भएको उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण र रास्वपा सभापति लामिछानेको चीन भ्रमणका विषयमा समेत भेटमा कुराकानी भएको बताइएको छ ।

तर, बालुवाटारले दुई नेताबीच सम्बन्धमा ठूलो दरार उत्पन्न भएको भन्ने बुझाइलाई अस्वीकार गरेको छ । ‘दुई नेताबीच एकदमै दरार उत्पन्न भएजस्तो गरेर बुझिएको छ, त्यस्तो केही होइन । यसलाई नियमित छलफल मान्न सकिन्छ,’ बालुवाटार स्रोतले भन्यो ।

लामिछानेसँग रास्वपाका उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि बालुवाटार पुगेको पार्टी स्रोतले दाबी गरेको छ । यद्यपि, सुरक्षा स्रोतले वाग्ले पनि भेटमा सहभागी भएको पुष्टि गरेको छैन । प्रधानमन्त्री शाहका मुख्य सल्लाहकार कुमार बेन पनि भेटमा सहभागी भएको बताइए पनि बेनले भने आफू उक्त भेटमा सहभागी नभएको दाबी गरेका छन् ।

बालेन प्रधानमन्त्री बनेपछि लामिछाने दोस्रोपटक बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री शाहले बालुवाटारमा अनौपचारिक जमघट र पारिवारिक भेटघाटबाहेक राजनीतिक भेटवार्ता कमै गर्ने गरेका छन् । यसअघि भएको भेटमा भने लामिछाने र शाहसँग कुमार बेनलगायत उच्च तहका केही नेता सहभागी रहेको उच्च सुरक्षा स्रोतले पुष्टि गरेको थियो ।

धेरै पढिएको