म्यानमारको याङ्गुन क्षेत्रमा ९० जनाभन्दा बढी व्यक्तिमा हैजाको संक्रमण पुष्टि भएको छ । म्यानमारको स्वास्थ्य मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार यस संक्रमणका कारण हालसम्म एक जनाको मृत्यु भएको छ ।
मन्त्रालयकाअनुसार हाल याङ्गुनका विभिन्न अस्पतालमा झाडापखालाका लक्षण भएका १७१ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये ५४ जनाको अवस्था गम्भीर रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
हैजाका अधिकांश बिरामीहरू लनमाड, लाथा, पाबेदान र क्याउक्टाडा क्षेत्रमा भेटिएका हुन् । संक्रमण नियन्त्रणका लागि स्थानीय अधिकारीहरूले उच्च जोखिम रहेका क्षेत्रहरूमा पानी र खाद्य पदार्थको नमुना संकलन गरी परीक्षण सुरु गरेका छन् ।
साथै, संक्रमण फैलिन नदिन सडक किनारका खाद्य पसलहरूलाई अस्थायी रूपमा बन्द गर्न निर्देशन दिइएको छ । स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई विशेष शतर्कता अपनाउन आह्वान गर्दै पानी उमालेर मात्र पिउन, साबुन पानीले राम्ररी हात धुन र अस्वच्छ एवं खुला स्थानमा राखिएका खानेकुरा सेवन नगर्न आग्रह गरेको छ ।