लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रविन शेरचनले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पुँजी र अनुभवलाई मातृभूमिको समृद्धिसँग जोड्न क्षेत्रीय सम्मेलनहरू फलदायी रहेको बताएका छन्।
आयरल्यान्डको डब्लिनमा अगस्ट १०–११ तारिख सम्पन्न १७औँ एनआरएनए युरोप क्षेत्रीय सम्मेलन ‘संकल्प’ मा सहभागी शेरचनले यस्तो बताएका हुन्।
सम्मेलनका क्रममा विभिन्न महत्वपूर्ण विषयमा भएका प्यानल छलफल, विज्ञ तथा अग्रजहरूसँगको संवाद, युवा पुस्तासँगको अनुभव आदान–प्रदान तथा प्रत्यक्ष साक्षात्कारले एनआरएनएको भूमिका, आवश्यकता र जिम्मेवारीलाई अझ नजिकबाट बुझ्ने महत्वपूर्ण अवसर प्राप्त भएको उनले बताए।
उनका अनुसार सम्मेलनले ९ बुँदे ‘डब्लिन घोषणापत्र’ जारी गर्दै नयाँ संकल्पका साथ सम्पन्न भएको छ।
“हामीले विदेशमा सिकेको ज्ञान, हासिल गरेको सीप र आर्जन गरेको पुँजीलाई केवल व्यक्तिगत समृद्धिमा सीमित नराखी नेपालको आर्थिक, सामाजिक तथा समग्र विकाससँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता अझ स्पष्ट रूपमा महसुस गरेका छौँ,” शेरचनले भने।
उनले यही प्रतिबद्धतालाई आत्मसात् गर्दै सम्मेलनले विभिन्न महत्वपूर्ण विषय समेटिएको ‘डब्लिन घोषणापत्र’ जारी गरेको बताए।
“एनआरएनए विदेशमा रहेका नेपालीहरूको साझा संस्था मात्र होइन, प्रवासमा रहेको ज्ञान, सीप, पुँजी र अनुभवलाई मातृभूमिको समृद्धिसँग जोड्ने महत्वपूर्ण सेतु पनि हो,” उनले भने।
सम्मेलनबाट प्राप्त ज्ञान, अनुभव र प्रतिबद्धतालाई व्यवहारमा रूपान्तरण गर्दै नेपाली समुदाय तथा मातृभूमिको हितमा अझ प्रभावकारी रूपमा योगदान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।
१७औँ युरोप क्षेत्रीय सम्मेलन सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण आयोजक, प्रतिनिधि, विज्ञ, अतिथि तथा सहभागीहरूप्रति शेरचनले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।
मन्तव्य ।
१७ औँ एनआरएनए युरोपेली क्षेत्रीय बैठक उद्घाटन समारोहका सभापति श्री रोबर्ट लिम्बुज्यू,
प्रमुख अतिथि सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेताज्यू, माननीय गणेश पराजुलीज्यू,
विशेष अतिथि डब्लिन सिटी काउन्सिलकी काउन्सिलर सुश्री सुप्रिया सिङ्गाज्यू।
लन्डनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्री बिपिन दुवाडीज्यू,
परराष्ट्र मन्त्रालयका उपसचिव, तथा श्रम आप्रवासन तथा डायस्पोरा महाशाखा, प्रमुख श्री कृष्णकुमार सुबेदीज्यू,
NRNA ICC का अध्यक्ष डा. हेमराज शर्माज्यू,
NRNA ICC का उपाध्यक्ष ज्यूहरु आईसिसिका पदाधिकारीज्यूहरू
विभिन्न NCC का अध्यक्ष तथा पदाधिकारीज्यूहरू, एनआरएनए अभियन्ता ज्यूहरु
पत्रकार साथिहरु एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा नमस्कार अभिवादन ।
विकास, शिक्षा र सभ्यताको उच्चतम अभ्यास गरिरहेको युरोपको ऐतिहासिक र समृद्ध शहर आयरल्यान्डको डब्लिनमा आफ्ना अग्रज, सहकर्मी र आत्मीय साथीहरूसँग भेटघाट गर्ने अवसर पाउँदा म अत्यन्त हर्षित छु।
तर यो खुसीसँगै मेरो जिम्मेवारी अझ बढेको महसुस पनि गरेको छु। हामी यहाँ केवल भेटघाट र सम्मेलनका लागि भेला भएका होइनौँ।हामीसँग एउटा साझा प्रश्न छ । विदेशमा सिकेको ज्ञान, कमाएको पूँजी, प्राप्त गरेको अनुभव र बनाएको सम्बन्धलाई कसरी नेपालको समृद्धिसँग जोड्ने?
हामी वर्षौँदेखि रेमिट्यान्स पठाउँदै आएका छौँ। परिवार चलाएका छौँ, समाज धानेका छौँ र देशको अर्थतन्त्रलाई टेवा दिएका छौँ। तर अब हाम्रो भूमिका रेमिट्यान्स पठाउनेबाट लगानी साझेदार बनाउने, अनुभव बाँड्ने र देश निर्माणमा साझेदार बन्ने चरणमा प्रवेश गर्नुपर्छ।
हामी विदेशमा बसेका नेपालीहरू नेपालका लागि केवल श्रमशक्ति होइनौँ।हामी पूँजी हौँ, सीप हौँ, ज्ञान हौँ, प्रविधि हौँ, अनुभव हौँ र विश्वसँग जोडिएको नेपालको ठूलो नेटवर्क हौँ।
त्यसैले अब हाम्रो एजेन्डा स्पष्ट हुनुपर्छ ।
“रेमिट्यान्सबाट साझेदारीतर्फ, श्रमबाट लगानीतर्फ र विदेशको अनुभवबाट मातृभूमिको समृद्धितर्फ।” मैले विदेशमा आएर एउटा कुरा अझ स्पष्ट रूपमा बुझेको छु । लगानी भनेको केवल पैसा मात्र होइन। लगानीसँगै अनुभव, ज्ञान, प्रविधि र सबैभन्दा महत्वपूर्ण कुरा, कानुनी सुरक्षा र राज्यको ग्यारेन्टी चाहिन्छ।
मैले NRNA Trade and Investment Department को Chair तथा Diaspora Fund को उपाध्यक्षका रूपमा विश्वभर रहेका नेपाली डायस्पोरामा नेपालमा लगानी गर्ने ठूलो इच्छा र क्षमता देखेको छु। तर इच्छालाई वास्तविक लगानीमा बदल्न नीतिगत स्थिरता, सरल कानुनी प्रक्रिया, लगानी सुरक्षा र सरकारप्रतिको विश्वास बनाउन जरुरी छ।
यसै उद्देश्यले हामी NRN Development Fund र Diaspora Fund जस्ता संस्थागत संरचनालाई अघि बढाइरहेका छौँ। NRN Development Fund नेपाली मूलका तर विदेशी नागरिकता लिएका व्यक्तिहरूको पूँजीलाई नेपालका विकास परियोजनासँग जोड्ने उद्देश्यमा केन्द्रित हुनेछ भने Diaspora Fund विश्वभर रहेका नेपाली नागरिकहरूको पूँजीलाई संस्थागत तथा उत्पादनमूलक लगानीमा परिचालन गर्ने अवधारणामा स्थापना गरिएका छन्।
त्यसैले नेपाल सरकारले लगानीको वातावरण निर्माण गर्नुपर्छ। लगानीकर्ताले आफ्नो पूँजी सुरक्षित छ, कानुनले संरक्षण गर्छ र राज्यले साथ दिन्छ भन्ने विश्वास गर्न सक्ने वातावरण बनाउनुपर्छ।
यससँगै म आज यहाँबाट भव्न चाहान्छु ।
हिजो हामीले बिदेश जादा जुन नाम र नम्बरको नागरिकता लिएर गयौ त्यहि नागरिकताको निरंतरताको हुनु पर्नेमा मेरो माग छ । हाम्रो देशसग नागरिकताको मात्र होईन पहिचानको पनि सम्बन्ध छ । नागरिकता केवल कागजको विषय होइन। यो हाम्रो जन्मभूमिसँग जोडिएको पहिचान हो।
जन्मका आधारमा प्राप्त नागरिकताको निरन्तरता सहज रूपमा कायम गरिदिँदा न राज्यलाई ठूलो समस्या हुन्छ, न नागरिकलाई।
त्यसैले प्रमुख अतिथिज्यूमार्फत नेपाल सरकार र सम्बन्धित सबै निकायलाई म आग्रह गर्न चाहन्छु ।
विदेशमा रहेका नेपालीहरूको नागरिकताको विषयलाई व्यवहारिक, सरल र सम्मानजनक ढंगले समाधान गरौँ।
हामी राज्यसँग सुविधा मागिरहेका मात्र छैनौँ।
हामी राज्य निर्माणमा साझेदार बन्ने अधिकार र अवसर मागिरहेका छौँ।
एनआरएनए अभियानले विश्वभर छरिएका नेपालीहरूलाई एउटै भावनात्मक र संस्थागत पुलमा जोड्ने काम गरेको छ। यो हामी सबैको साझा उपलब्धि हो।
पछिल्लो महाधिवेशनमा पनि बृहत्तर एकताका लागि सहमति कायम होस् भन्ने उद्देश्यले मैले एक कदम पछाडि हट्ने निर्णय गरेको थिएँ।
यदि म चुनावमै जाने अडानमा रहेको भए सायद आज हामी यसरी एउटै परिवारझैँ हाँस्दै, भेट्दै र आत्मीयताका साथ यो सम्मेलनमा सहभागी हुन पाउने अवस्था फरक हुन सक्थ्यो।
आज यहाँ तपाईंहरूको अनुहारमा देखिएको मुस्कान, आत्मीयता र एकता देख्दा मलाई लागिरहेको छ । त्यो एक कदम पछाडि हट्ने निर्णय गलत थिएन।
तर अब एउटा प्रश्न हामी आफैँलाई सोध्नुपर्छ ।
सहमति त गर्यौँ, तर के सहमतिपछिको सहकार्य पर्याप्त भएको छ? हाम्रो निर्णयका कारण वा हाम्रो ब्यवहारको कारण कुनै साथीको मन दुखेको त छैन? कसैलाई बाहिर पारिएको अनुभूति त भएको छैन? के हामीले सबैलाई समेट्न सकेका छौँ त?
यी प्रश्नको उत्तर खोज्दै वर्तमान नेतृत्वले सचेत भएर भएका निर्णय र यदि जान अन्जान गरिएको छभने समयमा नै सच्चाउन अनुरोध गर्दछु ।
एनआरएनएमा पदभन्दा ठूलो सम्बन्ध हो, निर्वाचनभन्दा ठूलो एकता हो र व्यक्तिगत जितभन्दा ठूलो संस्थाको उपलब्धि हो।
त्यसैले म सबै साथीहरूलाई आग्रह गर्छु ।
हामी सबैलाई अटाउने मन बनाऔँ।
एकअर्काको अस्तित्व स्वीकार गरौँ।
एक मिनेट पनि अनावश्यक विवादमा नखर्चौँ।
एकताबद्ध भएर परिणाम निकाल्ने दिशामा अघि बढौँ।
आज विकसित देशहरूले केवल वस्तु होइन, सिस्टम, प्रविधि, ज्ञान र व्यवस्थापन निर्यात गर्छन्। तर हामी अझै पनि विभिन्न भिषामा आफ्ना युवाहरूलाई श्रम बजारमा निर्यात गरिरहेका छौँ।
कोरोनापछि जापान र युरोपलगायत विश्वका विभिन्न देशमा नेपाली युवाहरू रोजगारीको खोजीमा आइरहेका छन्।
तर दुःखका साथ भन्नुपर्छ । उनीहरू विदेश आउनुअघि राज्यले आवश्यक तयारी, भाषा, सीप, श्रम अधिकार र गन्तव्य देशको कानुनी व्यवस्थाबारे पर्याप्त जानकारी दिने प्रणाली अझै बलियो बनाउन सकेको छैन।
त्यसको फाइदा दलाल र बिचौलियाले उठाउँछन्। हाम्रा युवाहरू गलत बाटो समात्न बाध्य हुन्छन्। अब राज्यको उपस्थिति नेपालमा मात्र होइन, जहाँ नेपाली छन्, त्यहाँ देखिनुपर्छ।
“जहाँ नेपाली, त्यहाँ राज्य”जहाँ नेपाली, त्यहाँ राज्यको सहयोग।” तपाई जानकारी छ होला । जापानको विकास सहयोग संस्था जाइका (JICA) को विकासक्रमलाई हामीले उदाहरणका रूपमा हेर्न सक्छौँ। पहिला हामि नेपाली जस्तै जापानिजहरु पनि संसारका बिभिन्न देशहरुमा श्रम गर्न जाने गर्दथे तिनै जापानिजहरुलाई सरकारको सहयोग पुर्याउने काम अहिलेको जाईकाले गर्ने गरेको थियो । अहिले जापानको विकाससँगै त्यसको स्वरुप फेरिएको छ र हामिले जाईकालाई जापानको अन्तर्राष्ट्रिय सहयोग नियोगको रुपमा चिन्ने गरेका छौ । त्यसैले आफ्ना नागरिकका लागि राज्यको उपस्थिती हुनु आवस्यक रहेको छ । त्यसैगरी नेपालले पनि विदेशमा रहेका आफ्ना नागरिकलाई केवल राहदानी दिने र समस्या पर्दा उद्धार गर्ने दृष्टिकोणबाट माथि उठ्नुपर्छ। जहाँ ठूलो नेपाली समुदाय छ, त्यहाँ राज्यको हेल्पडेस्क, सूचना केन्द्र वा आवश्यकताअनुसार नियोगीय सेवा विस्तार हुनुपर्छ।
नेपाली श्रमिकलाई श्रम अधिकारको जानकारी चाहियोस्,व्यवसायीलाई लगानीको जानकारी चाहियोस्,विद्यार्थीलाई परामर्श चाहियोस्, समस्या परेको नागरिकलाई कानुनी वा कन्सुलर सहयोग चाहियोस् यो सबै राज्यले नागरिकका लागि उपलभ्ध गरिनु पर्छ ।
अन्त्यमा, म एनआरएनएलाई एउटा संस्थाभन्दा पनि अभियानका रूपमा हेर्छु। किनकि बिदेशमा हुर्कि रहेको हाम्रो दोश्रो पुस्तालाई स्वदेशसग जोडेने क्वालिफाईड दोश्रो पुस्ताबाट देशको सेवा पुर्याउने ।
यसैगरी सहयोग चाहिनेलाई सहयोग उपलब्ध गराउने,सहयोग गर्न सक्नेलाई अवसर उपलब्ध गराउने, ज्ञान भएकालाई ज्ञान बाँड्ने, पूँजी भएकालाई लगानीको अवसर दिने र विश्वभरका नेपालीलाई एउटै साझा उद्देश्यमा जोड्ने अभियान। १७औँ युरोपेली क्षेत्रीय सम्मेलन मेरा लागि केवल औपचारिक कार्यक्रम होइन।
यो मेरा आत्मीय साथीहरूसँग भलाकुसारी गर्ने, युरोपका विभिन्न क्षेत्रमा सफलता हासिल गरेका नेपालीहरूको अनुभव सुन्ने,हाम्रा साझा समस्या र सम्भावनाबारे छलफल गर्ने र “एकपटकको नेपाली, सधैँको नेपाली” भन्ने भावनालाई व्यवहारमा उतार्ने महत्वपूर्ण अवसर हो। हामी जहाँ पुगे पनि हाम्रो जरा नेपालमै छ।
हामी जहाँ बसे पनि हाम्रो जिम्मेवारी मातृभूमिप्रति छ र रहने छ । हामीले विदेशमा हासिल गरेको सफलता अन्ततः नेपालको समृद्धिको एउटा आधार बन्नुपर्छ। डब्लिन बैठक केवल छलफल र निर्णय गर्ने थलो मात्र नबनोस्; यहाँबाट निस्कने प्रत्येक निर्णयलाई स्पष्ट कार्ययोजनामा रूपान्तरण गरौँ । के गर्ने, कसले गर्ने, कहिलेसम्म गर्ने र उपलब्धि कसरी मापन गर्ने भन्ने स्पष्ट गरौँ। निर्णयपछि कार्यान्वयन र कार्यान्वयनपछि परिणाम देखिने संस्कार स्थापित गरौँ। यसका लागि एनआरएनए र नेपाल सरकारबीच नियमित, संस्थागत र परिणाममुखी फलो–अप संयन्त्र निर्माण गर्न आवश्यक छ।
अब एनआरएनएको आगामी यात्रा तीन आधारमा अघि बढ्नुपर्छ, प्रतिनिधित्व, साझेदारी र नतिजा। विश्वभरका नेपालीको प्रभावकारी प्रतिनिधित्व, नेपाल सरकार तथा निजी क्षेत्रसँग संस्थागत र अर्थपूर्ण साझेदारी, अनि प्रतिबद्धताको परिणाममुखी कार्यान्वयन, यिनै आधारमा एनआरएनएको भविष्य निर्माण हुनुपर्छ।
गैरआवासीय नेपाली संघ हामी आज जहाँ उभिएका छौँ, त्यहाँसम्म आइपुग्दा हाम्रा अग्रजहरूको लामो त्याग, तपस्या, मेहनत र योगदानबाट निर्माण भएको सुन्दर फूलको माला हो। यसको एउटा–एउटा फूलमा अनेकौँ अग्रज, अभियन्ता र प्रवासी नेपालीको पसिना, समर्पण र सपना जोडिएको छ। त्यसैले यसको निर्माण र विकासमा योगदान पुर्याउनुहुने सम्पूर्ण अग्रज तथा अभियन्ताहरूप्रति म हार्दिक सम्मान र आभार व्यक्त गर्दछु।
जन्मिएपछि हुर्किँदै, बयस्क हुँदै आजको अवस्थामा आइपुग्दा एनआरएनएको यात्रामा कतै बाटो बिरायौँ होला, कतै कमजोरी भए होलान्, कतै मनमुटाव र असमझदारी पनि भए होलान्। तर इतिहासलाई बोकेर सधैँ विभाजित भइरहनु हाम्रो गन्तव्य होइन। विगतबाट पाठ सिक्ने हो, विगतमा अड्किने होइन।
अब एनआरएनएलाई विवादको होइन, विश्वासको संस्था बनाऔँ। भाषणको होइन, परिणामको संस्था बनाऔँ। विभाजनको होइन, एकताको साझा मञ्च बनाऔँ।
एकताबद्ध एनआरएनए, सुदृढ डायस्पोरा र समृद्ध नेपाल, यही हाम्रो साझा संकल्प हो। आउनुहोस्, विगतलाई सम्मान गर्दै भविष्यतर्फ हेरौँ, हातेमालो गरौँ र एनआरएनएको नयाँ यात्रालाई प्रतिनिधिमूलक, साझेदारीमुखी र नतिजामुखी बनाऔँ।
सबै नेपालीको एनआरएनए, सबैको सहभागिता र सबैको साझा भविष्यका लागि एकताबद्ध भएर अगाडि बढौँ।
धन्यवाद। जय एनआरएनए
जय नेपाल