लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछानेले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्दै संस्थालाई थप सुदृढ र गतिशील बनाउनुपर्ने बताएका छन्।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै लामिछानेले सामाजिक संस्थामा समयअनुसार नयाँ पुस्ताको नेतृत्व विकास हुनुपर्ने र उनीहरूले नै संस्थालाई अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले नेपालको राजनीतिमा जस्तै एउटै पुस्ता र उही व्यक्तिहरू दशकौँसम्म नेतृत्वमा रहिरहने प्रवृत्ति एनआरएनएमा दोहोरिनु उचित नहुने बताए। पुरानो पुस्ताले सधैँ आफ्नो समय, स्रोत र ऊर्जा संस्थामा लगाइरहन सम्भव नहुने उल्लेख गर्दै उनले आफूहरूको समयमा सक्दो योगदान गर्दै संस्थालाई अघि बढ्ने बाटो निर्माण गर्ने प्रयास गरिएको बताए।
“अब त्यो बाटोमा नयाँ पुस्ताले आफ्नै सोच, क्षमता र ऊर्जाका साथ संस्थालाई अगाडि लैजानुपर्छ,” लामिछानेले भनेका छन्। पुरानो पुस्ताको उपस्थिति वा सक्रियताबिनै संस्था सहज रूपमा अघि बढ्न सक्नु नै संस्थागत विकासको संकेत भएको उनको भनाइ छ।
लामिछानेले पछिल्ला केही वर्षमा एनआरएनएले आफ्नो पुरानो गरिमा र आकर्षण धेरै हदसम्म गुमाएको पनि स्वीकार गरेका छन्। त्यसका लागि कुनै एक व्यक्ति वा समूहलाई मात्र दोष दिनुभन्दा सबैले आ–आफ्नो हिस्साको जिम्मेवारी लिनुपर्ने उनले बताए।
उनले वर्तमान अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा रहेको टिमले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाभित्र विश्वास, एकता र अपनत्वको वातावरण पुनःनिर्माण गर्ने विश्वास व्यक्त गरे। “डा. हेमराज शर्माको नेतृत्वमा रहेको अहिलेको टिमले विगतका कमजोरीबाट पाठ सिक्दै संस्थाभित्र विश्वास, एकता र अपनत्वको वातावरण फेरि निर्माण गर्नेछ र एनआरएनएको गुमेको साख फर्काउने दिशामा काम गर्नेछ भन्ने आशा गरेको छु,” उनले भनेका छन्।
लामिछानेले पुरानो पुस्ताको योगदानलाई स्मरण गर्दै सम्मानपूर्वक विषय उठान गरेकोमा सञ्चारकर्मीप्रति धन्यवादसमेत व्यक्त गरेका छन्।
