लण्डन । वंशजका नेपाली नागरिकको नागरिकता निरन्तरता तथा नागरिकतासम्बन्धी विद्यमान व्यवस्थामा सुधारको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन तथा भेला आयोजना हुने भएको छ।
देशभक्त नागरिक समाज र ‘नागरिकता खोइ अभियान’को पहलमा आगामी भदौ १८ र १९ गते माइतीघर मण्डलामा कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रमका लागि देशभक्त नागरिक समाजका अध्यक्ष रञ्जन शर्मा खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग अनुमति तथा आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै निवेदनसमेत दिएका छन्।
आयोजकका अनुसार कार्यक्रममा वंशजका नेपाली नागरिक, गैरआवासीय नेपाली तथा उनीहरूका परिवार, आफन्त र शुभचिन्तकहरूको सहभागिता रहनेछ। नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकतासम्बन्धी प्रावधान तथा आर्थिक अधिकारका विषयमा देखिएका समस्या र अन्योलबारे आवाज उठाउने उद्देश्यले भेला आयोजना गर्न लागिएको जनाइएको छ।
यसैबीच, अमेरिकास्थित पत्रकार टंक ढकालले सामाजिक सञ्जालमार्फत गैरआवासीय नेपाली नागरिकतासम्बन्धी व्यवस्थामाथि प्रश्न उठाएका छन्। उनले वंशजको नेपाली नागरिकता त्यागेर निश्चित अधिकारसहितको कार्ड लिनुपर्ने, नेपाल प्रवेश गर्दा भिसाको आवश्यकता पर्ने तथा लगानी र व्यवसायका क्षेत्रमा विदेशीसरहका विभिन्न प्रतिबन्ध सामना गर्नुपर्ने अवस्थाले ‘पूर्ण आर्थिक अधिकार’ भन्ने व्यवस्थाको व्यवहारिक अर्थबारे प्रश्न सिर्जना गरेको बताएका छन्।
ढकालले कानुनमा समस्या भए सच्याउनुपर्ने र व्यवस्था बुझ्न कठिन भएको भए स्पष्ट रूपमा बुझाउनुपर्नेमा जोड दिएका छन्। नागरिकता र अधिकारसम्बन्धी विषयमा अझै धेरै कुरा स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै उनले माइतीघरमा आयोजना हुने शान्तिपूर्ण भेलामा सहभागी भई सहयोग गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन्।
आयोजकहरूले कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण हुने र नागरिकता निरन्तरता तथा अधिकारका विषयमा आफ्ना माग सम्बन्धित निकायसमक्ष पुर्याउने बताएका छन्।
