६ भाद्र २०८३, शनिबार
Follow Us

पत्रकार योगी डायस्पोरा पत्रकारिता अवार्डद्वारा सम्मानित

नेपालब्रिटेन संवाददाता
६ भाद्र २०८३, शनिबार १८:१०

लण्डन । बीबीसी नेपाली सेवाका पूर्व पत्रकार भगीरथ योगीलाई डायस्पोरा पत्रकारिता अवार्डद्वारा सम्मान गरिएको छ।

किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित तेस्रो ‘किताब जात्रा’ कार्यक्रममा योगीलाई उक्त सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

व्यवसायी तथा समाजसेवी रविन्द्रजंग लामिछानेलाई ‘किताब जात्रा डायस्पोरा सामाजिक पहल सम्मान’, एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यलाई ‘डायस्पोरा उद्यमशीलता सम्मान’, लेक्स लिम्बूलाई ‘युथ आइकन सम्मान’ तथा बेलायतमा कार्यरत कवि एवं उपन्यासकार डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’लाई ‘डायस्पोरा साहित्य सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रममा ‘डायस्पोरा नेपाली साहित्य : अवसर र चुनौती’ विषयमा अन्तरक्रिया गरिएको थियो। पत्रकार तथा लेखक निर्भीकजंग रायमाझीले सहजीकरण गरेको अन्तरक्रियामा टीकाराम यात्री, डा. संगीता श्रेष्ठ ‘स्वेच्छा’ र डा. रवीन्द्र समीरले प्यानलिस्टका रूपमा आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा पासा पुचः गुठी यूकेका अध्यक्ष सुशील प्रजापतिले जनकवि दुर्गालाल श्रेष्ठका र आफ्ना कविताहरू वाचन गरे। नेप्लिज नर्सिङ एसोसिएसन यूकेकी अध्यक्ष रश्मिता सिंह दर्लामीले ‘आई एम ए नर्स’ तथा उत्सव निर्देशक ऋषिराम अधिकारीले ‘बा’ शीर्षकको कविता वाचन गरेका थिए।

कलाकार दीपक थापाले गोपाल योञ्जनको चर्चित देशभक्ति गीत ‘देशले रगत मागे’ प्रस्तुत गरेका थिए।

कार्यक्रममा बेलायतका पूर्वसांसद, कूटनीतिज्ञ, साहित्यकार, पत्रकार तथा नेपाली समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

धेरै पढिएको