११ भाद्र २०८३, बिहीबार
Follow Us

विश्वकीर्तिमान हिमाल आरोही स्व. निर्मल पुर्जा ‘निम्सदाइ’लाई भावपूर्ण अन्तिम बिदाइ

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार २३:२७

विश्वकीर्तिमान हिमाल आरोही स्वर्गीय निर्मल पुर्जा ‘निम्सदाइ’ एमबिईको पार्थिव शरीरलाई बेलायतमा भावविभोर हुँदै अन्तिम बिदाइ गरिएको छ। ब्ल्यान्डफर्डस्थित मिल्टन एबी गिरिजाघरमा बुधबार, २६ अगस्ट २०२६ मा आयोजित श्रद्धाञ्जलि तथा शोकसभामा उहाँका परिवारजन, बेलायतवासी नेपाली समुदाय, ब्रिटिश आर्मीका प्रतिनिधि, पर्वतारोहण क्षेत्रका व्यक्तित्व तथा अन्य शुभचिन्तकहरूले श्रद्धाञ्जलि अर्पण गर्दै अन्तिम बिदाइ गरेका हुन्।

श्रद्धाञ्जलि सभामा पादरी फिलिप करोल, पण्डित प्रेमप्रसाद गैरे र बौद्ध गुरु रिम्पोछे छेवाङ गुरुङले स्वर्गीय पुर्जाको आत्माको चिरशान्तिको कामना गर्दै धार्मिक विधि तथा प्रार्थना गर्नुभएको थियो।

सभामा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शोक मन्तव्य व्यक्त गर्दै स्वर्गीय पुर्जाको योगदानको स्मरण गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो। पूर्व एमएबी६को तर्फबाट आन मिडल्टन, ब्रिटिश आर्मीको तर्फबाट मेजर जेनेरल डान रीबस, क्विन्स गोर्खा इन्जिनियर्स (क्यूजिए)को तर्फबाट गोर्खा मेजर खड्क गुरुङ, नेपाल पर्वतारोहण संघको तर्फबाट मिङमा शेर्पा, नेपालको तर्फबाट निवर्तमान सभामुख तथा सांसद इन्दिरा राना मगर, बेलायतका पर्वतारोहीहरूको तर्फबाट रेनहोल्ड मेस्नर तथा नजिकका साथीहरूको तर्फबाट धनी राई एमबिईले मन्तव्य राख्नुभएको थियो।

त्यसैगरी, परिवारको तर्फबाट स्वर्गीय पुर्जाकी धर्मपत्नी सुची पुर्जा, साला तेजन गुरुङ र दाजु कमल पुर्जाले मन्तव्य व्यक्त गर्दै उहाँसँग जोडिएका स्मृति तथा योगदानको चर्चा गर्नुभएको थियो। उहाँहरूले श्रद्धाञ्जलि कार्यक्रममा सहभागी धर्मगुरुहरू, विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्दै शोक मन्तव्य राख्ने वक्ताहरू तथा अन्तिम बिदाइको व्यवस्थापनमा खटिएका सबैप्रति आभार व्यक्त गर्नुभएको थियो।

परिवारले क्यूजिइ, किङ्स गोर्खा आर्टिलरी (केजीए), रोयल गोर्खा राइफल्स (आरजीआर), इन्टेक ०३ तथा नम्बरीका अधिकृतहरू, सिनियर एनसीओ, जुनियर एनसीओ र जवानहरूसहित उपस्थित सम्पूर्ण महानुभावहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको थियो।

श्रद्धाञ्जलि सभा सम्पन्न भएपछि सुरक्षाका कारण स्वर्गीय पुर्जाको पार्थिव शरीरलाई परिवारका सदस्यहरूले मात्र एक गोप्य स्थानमा अन्त्येष्टि गरेका छन्। यससँगै विश्व पर्वतारोहणमा आफ्नो साहस, कीर्तिमान र योगदानमार्फत विशिष्ट पहिचान बनाएका ‘निम्सदाइ’प्रति परिवार, नेपाली समुदाय तथा शुभचिन्तकहरूले भावपूर्ण बिदाइ गरेका छन्।

धेरै पढिएको