लन्डन । भोटेकोशी नदीमा हालै आएको विनाशकारी आकस्मिक बाढीका कारण ठूलो जनधनको क्षति भएपछि पीडित परिवारको उद्धार, राहत तथा पुनस्थापनाका लागि बेलायतस्थित नेपाली पेशाकर्मीहरूको संस्था ‘सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके’ ले विश्वभर रहेका नेपाली तथा शुभेच्छुकहरूमाझ सहयोगको लागि हार्दिक अपिल गरेको छ। बाढीका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् भने स्थानीय भौतिक पूर्वाधार, सडक तथा पुलहरूमा व्यापक क्षति पुगी प्रभावित क्षेत्रमा दीर्घकालीन सामाजिक र आर्थिक संकट उत्पन्न हुने जोखिम बढेको छ।
संस्थाका अध्यक्ष डा. रामजी पौडेल तथा महासचिव पुष्पराज मोक्तानद्वारा हस्ताक्षरित विज्ञप्तिमा बाढीका कारण जीवन गुमाउनेहरूप्रति गहिरो शोक व्यक्त गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “यस प्राकृतिक विपत्तिको कठिन घडीमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अहोरात्र उद्धार तथा राहत कार्यमा खटिएका सरकारी तथा गैरसरकारी निकाय, सुरक्षाकर्मी र स्थानीय स्वयंसेवकहरूप्रति उच्च सम्मान र आभार व्यक्त गर्दछौँ।”
विपत्तिको सामना गरिरहेका पीडित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन र ध्वस्त भएका संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थाले औपचारिक रूपमा आर्थिक संकलन अभियान सुरु गरेको छ। युकेस्थित HSBC बैंकमा रहेको संस्थाको खाता (Account Name: Society of Nepalese Professionals, Account No: 93845427, Sort Code: 40-31-06, Reference: Name + Nepal-help) मार्फत इच्छुक दाताहरूले आफ्नो गच्छेअनुसारको रकम सहयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ। साना वा ठूला जस्तासुकै सहयोगले पनि संकटमा परेका नागरिकको जीवन रक्षा र पुनस्थापनामा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास संस्थाले लिएको छ।
संकलित रकमको पारदर्शिता र उत्तरदायित्वप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष डा. पौडेलले राहत कोषमा जम्मा हुने शतप्रतिशत रकम बिना कुनै प्रशासनिक कटौती नेपाल सरकारको ‘केन्द्रीय दैवी प्रकोप उद्धार कोष’ (Central Relief Fund) मा सिधै हस्तान्तरण गरिने जानकारी दिएका छन्। विपद्का समयमा सङ्कलन गरिने रकमको सदुपयोगिता र पारदर्शिता सुनिश्चित गर्न संस्थाले यसअघि पनि पारदर्शी संयन्त्रमार्फत सहयोग गर्दै आएको स्मरण गराएको छ।
सन् २००८ मा स्थापित ‘सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युके’ ले बेलायतमा रहेका नेपाली इन्जिनियर, डाक्टर, प्राध्यापक, वैज्ञानिक तथा अन्य विभिन्न पेसामा आबद्ध विज्ञहरूलाई एकीकृत गर्दै नेपालको सामाजिक तथा प्राविधिक विकासमा योगदान पुर्याउँदै आएको छ। संस्थाका उपाध्यक्ष डा. बिदुर घिमिरे, सचिव डा. शिक्षा बराल, कोषाध्यक्ष महेन्द्र ढकाल तथा कार्यसमिति सदस्यहरू जगत पौडेल, डा. नरबहादुर साउद, राजु न्यौपाने, सचिन श्रेष्ठ, शक्ति घिमिरे र शम्भुनाथ अधिकारीसहितको टोलीले प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायलाई यस मानवीय कार्यमा एकताबद्ध भई हात बढाउन अपिल गरेको छ।