गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत अत्यावश्यक सामग्री प्रदान गरिन् । गायक दुर्गेश थापा बाढीको घटनालगत्तै लत्ताकपडा, सिरक–डसनासहितका राहत सामग्री लिएर नुवाकोटका बाढी प्रभावित क्षेत्रमा पुगे ।
गायक तथा अभिनेता प्रकाश सपूतले गत बिहीबार गलबन्दी प्रोडक्सन र गलबन्दी फाउण्डेशनका तर्फबाट रु एक लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग प्रदान गरे । यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । भोटेकोशी–त्रिशूलीको विनाशकारी बाढीपछि स्वतःस्र्फूत रुपमा राहत सहयोग जुट्ने क्रम जारी छ । यसमा अभियानमा कलाकारहरुले पनि हातेमालो गरिरहेका छन् ।
गायक प्रकाश सपूतले सङ्कटको घडीमा नेपाल र नेपालीको सह–अस्तित्व, सहयोग र सद्भावको संस्कारलाई जीवन्त राख्नुपर्ने बताए । विपद्को कठिन घडीमा प्रभावित नागरिक र देशको साथमा एक्यबद्धतापूर्व उभिनु कलाकारको पनि दायित्व भएको उनको भनाइ छ । गायक दुर्गेश थापाले बाढी प्रभावित क्षेत्रका नागरिकको पीडा असह्य खालको रहेको सुनाए ।