१८ भाद्र २०८३, बिहीबार
Follow Us

बाढीबाट जीवन गुमाएकाको सम्झनामा लन्डन दूतावासमा स्मृतिसभा

नेपालब्रिटेन संवाददाता
१८ भाद्र २०८३, बिहीबार ०५:४७

लन्डन । गत बुधबार रसुवा, नुवाकोट लगायतका जिल्लाहरुमा भीषण बाढीबाट जीवन गुमाएका सबैको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा एक स्मृति सभा आयोजना गरिएको छ।

मंगलबार बेलुका दीप प्रज्वलन गर्दै आयोजित स्मृति सभाको सुरुमा मृतकहरुको सम्झनामा मौन धारण गरिएको थियो।

स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा घाइतेहरुको उपचारमा सम्पूर्ण साधन श्रोत लगाइ रहेको जनाए। उनले ब्रिटिश राजपरिवार, प्रधानमंत्री, मंत्रीहरु, सांसदहरु, मेयरहरु लगायत समाजसेवी तथा व्यवसायीहरुबाट ऐक्यबद्धता र सहयोगको संदेश प्राप्त भएको जनाए। उनले बेलायतस्थित नेपाली समुदायले बाढी पीडितहरुलाई मन खोलेर सहयोग गरिरहेको भन्दै प्रशंसा गरे। मानवीय सहयोगका लागि प्रदान गरिएको रकम दुरुपयोग हुन नपाओस् र उठेको रकम पीडित सम्म पुगोस् भन्ने बारे सजग रहन पनि उनले आग्रह गरे। प्रधानमंत्री राहत कोषमा गएर सहयोग प्रदान गर्न सकिने भन्दै यस बारे थप जानकारी दूतावासको वेबसाइटमा अध्यावधिक गरिएको उनले जनाए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष रामशरण सिम्खडाले एनएचएसमा कार्यरत आफ्नी दिदी शारदा सिम्खडा बेपत्ता भएकाले आफुहरु अत्यन्तै पीडामा रहेको भन्दै दिदी फर्केर आउनु हुन्छ भन्ने आफुहरुले आशा गरिरहेको बताए। उनले एनआरएनएले प्रभावित क्षेत्रमै पुगेर राहत वितरण गरिरहेको जनाउंदै सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न अपिल गरे।

एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालीहरुले कुनै अपराध नगरेता पनि जलवायु परिवर्तनका कारण धनजनको ठूलो क्षति व्यहोरीरहेको भन्दै नेपालले क्षतिपूर्ति माग्नु पर्ने जनाए। उनले दुखमा एक आपसमा सहयोग गर्ने नेपाली परम्परा रहेको भन्दै पीडित नेपालीहरुको दुखमा मल्हम लगाउन आग्रह गरे। उनले सबै संघसंस्थाहरुसंग सहकार्य गर्न एनआरएनए युके तयार रहेको पनि जनाए। उनले बाढीबाट अत्यन्तै प्रभावित रसुवा र नुवाकोट जिल्लाबाट बेलायतमा आएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई कुनै सहयोग चाहिए एनआरएनए युकेसंग सम्पर्क गर्न आग्रह पनि गरे।

नेप्लिज डक्टर्स एसोसियसन युकेकी अध्यक्ष डा आरती थापाले एसोसियसनले रु दस लाख प्रधानमंत्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको भन्दै सहयोग संकलन जारी रहेको बताइन्। उनले बेलायतमा कार्यरत नेपाली चिकित्सकहरु मुलुकलाई आवश्यक सहयोग गर्न तयार रहेको भन्दै ‘जलवायु न्याय’ का लागि पनि आवाज उठाउनु पर्ने जनाइन्।

नेप्लिज नर्सिङ्ग एसोसियसन युकेकी अध्यक्ष रश्मिता दर्लामीले एक जना नर्सिङ्ग सहकर्मी बाढीमा परी बेपत्ता हुँदा आफुहरु सबै दुखित रहेको भन्दै नर्स शारदा सिम्खडा सकुशल फर्कीउन् भनी आफुहरुले प्रार्थना गरिरहेको जनाइन्। उनले बाढी पीडितहरुको पीडामा मल्हम लगाउन नेपाली नर्सहरु तयार रहेको पनि जनाइन्।

स्मृति सभामा नुवाकोट समाज युकेका अध्यक्ष प्रमोद भण्डारी, मर्जिंग नेपसक्सका सुशान्त चुडाल लगायतले दुखको यो बेला सबै नेपाली एकजुट हुनु पर्ने बताए। हाल बेलायतमा अध्ययनरत निरुता आचार्यले बाढीमा परी आफ्ना भाइ केवल आचार्य बेपत्ता रहेको बताउंदै सबै बेपत्ता तथा घाइतेहरुको लागि प्रार्थना गर्न आग्रह गरिन्।

कार्यक्रमको संचालन दूतावासका द्वितीय सचिव सन्जोग राईले गरेका थिए। स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो।

धेरै पढिएको