लिभरपुल — बेलायतको नेपाली तथा गोर्खा समुदायका लागि एक ऐतिहासिक क्षणका रूपमा, मेडवे काउन्सिलकी पूर्वमेयर तथा क्याबिनेट सदस्य काउन्सिलर नीना गुरुङले लिभरपुलमा आयोजित लेबर पार्टीको वार्षिक सम्मेलनलाई सम्बोधन गर्नुभएको छ।
लेबर पार्टीको इतिहासमा पहिलो नेपाली मूलकी महिला र गोर्खा समुदायबाट पहिलो आधिकारिक प्रतिनिधि (डेलिगेट) का रूपमा उभिनुभएकी गुरुङले ‘महिला र राजनीति’ विषयक संयुक्त नीतिगत प्रस्तावको समर्थनमा मन्तव्य राख्नुभयो। उहाँले सार्वजनिक सेवामा अल्पसंख्यक महिलाहरूले ल्याउने महत्त्वपूर्ण दृष्टिकोणहरूलाई आफ्नो पृष्ठभूमिमार्फत प्रष्ट पार्नुभयो।
सम्मेलनमा उहाँले भन्नुभयो, “म एक गोर्खा सैनिककी छोरी, एक गर्विलो गोर्खाकी पत्नी, एक आमा, बालबालिकाको क्षेत्रमा समर्पित सामाजिक कार्यकर्ता र गोर्खा तथा नेपाली समुदायबाट पहिलो महिला क्याबिनेट सदस्य हुँ।”
‘जो कोक्स महिला नेतृत्व कार्यक्रम’ (Joe Cox Women in Leadership Programme) को उत्पादन गुरुङले अल्पसंख्यक महिलाहरूलाई सीमान्तकृत पार्ने संरचनागत असमानताहरूप्रति पार्टीको ध्यानाकर्षण गराउनुभयो। वर्णभेद (प्रजातिवाद), पितृसत्ता र सीमित सहयोग सञ्जालले थप चुनौती सिर्जना गर्ने उहाँको भनाइ थियो।
“महिलाहरू राजनीतिमा रित्तै हात आउँदैनन्,” उहाँले प्रतिनिधिहरूलाई भन्नुभयो, “हामीसँग हाम्रा समुदायले भोगेका यथार्थहरूको गहिरो बुझाइ, समानुभूति, दृढता र सहकार्य गर्ने क्षमता हुन्छ।” साथै, मेडवे लेबर पार्टीको नेतृत्व र सहकर्मीहरूले आफ्नो राजनीतिक यात्रामा पुर्याएको महत्त्वपूर्ण सहयोगप्रति उहाँले आभार व्यक्त गर्नुभयो।
राजनीतिक विश्लेषकहरूले गुरुङको यो ऐतिहासिक सम्बोधनलाई मूलधारको बेलायती राजनीतिमा ब्रिटिश-नेपाली र गोर्खा समुदायहरूको बढ्दो राजनीतिक सहभागिता र एकीकरणको रूपमा लिएका छन्।
स्थानीय तहदेखि राष्ट्रिय मञ्चसम्म प्रतिनिधित्व बढ्दै जाँदा यसले नीति निर्माण तहमा समेत छुट्टै पहिचान स्थापित गर्न थालेको छ।
सम्मेलनमा उपस्थित प्रतिनिधिहरूलाई ‘महिला र राजनीति’ प्रस्तावको पक्षमा एकमतले मतदान गर्न आह्वान गर्दै गुरुङको यो मन्तव्य सम्मेलन हलभन्दा बाहिर पनि व्यापक रूपमा चर्चित बनेको छ। यसले बेलायतका नेपाली डायस्पोरा र राजनीतिमा आउन चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोतको काम गरेको छ।
‘गोर्खा नेपाली कम्युनिटी मेडवे’ की पूर्वअध्यक्ष तथा हाल सल्लाहकार रहनुभएकी गुरुङको राजनीतिक कद स्थानीय स्तरमा उँचो बन्दै गएको छ भने, आगामी दिनमा राष्ट्रिय संसदीय राजनीतिमा उहाँको भूमिकाको सम्भावना झन् बलियो बन्दै गएको छ। आशा गरौँ युकेको केन्द्रिय राजनीतिमा छिट्टै नेपाली मूलका राजनीतिज्ञहरुको पहुँच पुग्ने छ ।

— भूमिराज राई